काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।
रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । बाबुरामले थालेको वैकल्पिक राजनीतिक जगमा आज राष्ट्रिय स्वतन्त्र पार्टीको उदय, विस्तार र उचाइ सम्भव हुन सकेको भन्दै वाग्लेले भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मार्गनिर्देश गर्न वरिष्ठ अभिभावकीय भूमिका निभाउन सक्ने उल्लेख गरेका छन् ।
वाग्लेले भनेका छन्, ‘पुराना दलहरूले राजनीतिक–सामाजिक सशक्तिकरणका लागि व्यवस्था परिवर्तनकै संघर्षबाट जे जति उपलब्धि हासिल गरे तिनको सारभूत संरक्षण गर्दै आगामी २१औं शताब्दीमा आर्थिक समुन्नतिको बाटो भने नयाँ र वैकल्पिक राजनीतिक दल र अभियानहरूबाट मात्र सफल हुन्छ भन्ने निष्कर्ष सहित ’नयाँ शक्ति’ को कल्पना डा. बाबुराम भट्टराईले गर्नुभएको हो। तत्पश्चात् उन्नत बन्दै आएको वैकल्पिक राजनीतिक जगमा आज राष्ट्रिय स्वतन्त्र पार्टीको उदय, विस्तार र उचाइ सम्भव हुन सकेको सर्वविदितै छ। पूर्व प्रधानमन्त्रीका रूपमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मार्गनिर्देश गर्न वरिष्ठ अभिभावकीय भूमिका निभाउन सक्नुहुनेछ भन्ने हाम्रो विश्वास छ। फागुन २१ पछि रास्वपाकै नेतृत्व वा सहभागितामा बन्न सक्ने संघीय सरकारको राजनीतिक–प्रशासनिक एवं सुशासन र विकाससँग सम्बन्धित संक्रमणकालीन व्यवस्थापन (transitional management) मा उहाँको अनुभवबाट सिक्दै हामीले धेरै गर्नुछ। त्यसैले फागुन २१ को आसन्न निर्वाचनमा गोरखा क्षेत्र न. २ बाट उम्मेदवार रहनुभएका डा. भट्टराईलाई उम्मेदवारी फिर्ता लिई आगामी दिनमा राजकाजका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सघाइ अनुकरणीय देशभक्तिपूर्ण उदाहरण प्रस्तुत गर्नहुन विनम्र अनुरोध गर्दछौं।’
