स्याङ्जा ।पियोनेर्स माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरूलाई एक सय प्रति श्रीमद्भगवद्गीता वितरण गरिएको छ ।
बिहीबार जन्मदिनको अवसर पारेर अशोक गैह्रेले विद्यालयमा गीता वितरण गर्दै जन्मदिन मनाएका हुन् । केक काटेर भन्दा फरक र अर्थपूर्ण रूपमा गीता पुस्तक बाँडेर जन्मदिन मनाइएको गैह्रेले बताएका हुन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मेगराज गैह्रेले गीता को महत्व, यसको ज्ञान तथा जीवन उपयोगिताका बारेमा जानकारी दिए । साथै गीताले मानिसलाई सही मार्गमा हिँड्न र नैतिक जीवन जिउन सहयोग गर्ने उनले बताए ।
त्यसैगरी विद्यालयका उपप्रधानाध्यापक केशव राज भट्टराईले गीताले जीवन जिउने कला सिकाउने उल्लेख गर्दै यसरी जन्मदिन मनाइएकोमा खुशी व्यक्त गरे । उनले यस्तो कार्यले विद्यार्थीहरूमा नैतिकताको विकास हुनुका साथै समाजमा सकारात्मक सोच फैलिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विश्व हिन्दु युवा संघ, स्याङ्जा जिल्ला का अध्यक्ष नवराज पौडेल ले मानिसले कहिल्यै पनि आफ्नो धर्म, संस्कृति र धरातल बिर्सन नहुने कुरामा जोड दिए ।
उक्त कार्यक्रम विश्व हिन्दु युवा संघ, स्याङ्जा जिल्ला को समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रमको अन्त्यमा अशोक गैह्रेले आफ्नो जन्मदिन केक काटेर मनाउनुभन्दा ज्ञानको भण्डार गीता पुस्तक बाँडेर मनाउन पाउँदा खुशी व्यक्त गर्दै अवसर प्रदान गरेकोमा विद्यालय लाई धन्यवाद समेत व्यक्त गरे ।

