कास्की । पोखरामा यही माघ ९ गतेदेखि सञ्चालन हुने ‘टाइगर कप’राष्ट्रिय/अन्तराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजक टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा खेल सञ्चालन हुनेछ । आयोजकले बिहीबार पोखरा रङ्गशालामा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ पाँच टोलीले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।
प्रतियोगितामा महिलातर्फ तीन विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब तथा टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र थाइल्याण्ड क्विन्स थाइल्याण्डले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी, पुरुषतर्फ विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब तथा पर्वत जिल्ला भलिबल सङ्घ र मालदिभ्स भलिबल एशोसियसनले प्रतिस्पर्धा गर्ने अध्यक्ष शर्माले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ न्यू डायमण्ड र त्रिभुवन आर्मी क्लब आमनेसामने हुनेछन् । पुरुषतर्फ त्रिभुवन आर्मीले मालदिभ्स भलिबल एशोसियसनको सामना गर्नेछ ।
यसैगरी, शुक्रबारको तेस्रो खेलमा घरेलु टिम गण्डकी प्रदेश भलिबल सङ्घले सशस्त्र प्रहरीको एपिएफसँग खेल्नेछ । यही माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरुष टोलीले समान रु छ लाख ६६ हजार ६६६, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्नेछन् ।
उपविजेताले रु तीन लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टोलीले नगद रु एक लाख ६६ हजार ६६६ प्राप्त गर्ने आयोजक टाइगर ग्रुपका सचिव डिबी नेपालीले जानकारी दिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पाचौँ संस्करणको टाइगर कपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो । प्रतियोगिताले राष्ट्रिय खेल भलिबलको विकासका साथै देशका लागि आवश्यक भलिबल खेलाडी उत्पादन गर्ने आयोजकको विश्वास छ ।
