मलाई राजनीतिक सिकार बनाइयोः रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशम चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् ।

कैलाली क्षेत्र नम्बर १ का उम्मेदवार चौधरीको उम्मेदवारी खारेज गरिएको भन्दै उनले आफूलाई राजनीतिको शिकार बनाइएको बताएका हुन् ।

उनले भनेका छन्, ‘राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ । विभेद दमन र उपेक्षित समुदायलाई उत्पीडनमा पार्दा प्रयोग गरिने हतियार पनि कस्ता कस्ता ? मण्डेलाले लामो संघर्ष गर्दाको परिणाम प्राप्ति सिंगो अफ्रिका हो । पहिचानको लामो लडाईको मार्ग कतै त्यही हुने त होइन ? भन्ने भय छ । राजनीतिक विभेदकाविरुद्ध सबैको साथ भनेकै जाँतोमा (चकिया) मा मतदान हो । मेरो उम्मेदवारी खारेजकाविरुद्ध देशैभर जाँतोमा मतदान गरेर नाउपा नेपाललाई साथ दिनुहुनेछ भन्ने अपेक्षा सहित । जय नागरिक ।’

निर्वाचन अधिकृतको कार्यालयले बिहीबार चौधरीको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिएकाले खारेज गर्ने निर्णय गरेको थियो । टीकापुर घटनासम्बन्धी मुद्दामा रेशमले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए ।

तर प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार जन्मकैद भएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउँदैनन् । २०७९ को चुनावमा पनि रेशम बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवार भएका थिए । त्यसबेला उनको उम्मेदवारी खारेज भएको थियो भने उनी त्यसबेला जेलमा थिए । त्यसपछि उनका बुवा लालवीर चौधरी बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *