डब्लिन । र्यान एयरका प्रमुख कार्यकारी माइकल ओलेरीले अर्बपति उद्यमी एलन मस्कलाई सङ्केत गर्दै युरोपेली सङ्घको नियमले गैर–युरोपेलीलाई आयरिश एयरलाइन्स नियन्त्रण गर्न निषेध गर्ने बताएका छन् ।
अमेरिका र क्यानाडाको नागरिकता भएका दक्षिण अफ्रिकामा जन्मेका मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा र्यान एयर किन्ने बारेमा एक सर्वेक्षण चलाउनुभएको बिषयमा ओलेरीको यो भनाइ आएको हो ।
“गैर–युरोपेली नागरिकले युरोपेली एयरलाइन्सको बहुसङ्ख्यक हिस्सा स्वामित्व लिन सक्दैनन्,” आलेरीले अर्को हप्ता सार्वजनिक गरिने कम्पनीको आय अद्यावधिक गर्नुअघि बुधबार डब्लिनको पत्रकार सम्मेलनमा भने ।
“तर यदि उहाँनी (मस्क) र्यान एयरमा लगानी गर्न चाहनुहुन्छ भने, हामी सोच्छौं कि यो धेरै राम्रो लगानी हो, निश्चित रूपमा उहाँले एक्समा कमाएको वित्तीय प्रतिफल भन्दा उल्लेखनीय रूपमा राम्रो लगानी हो,” ओलेरीले पत्रकारहरूसँगको साक्षात्कारमा भने ।
“हामी उहाँलाई थप प्रचारको लागि हार्दिक धन्यवाद दिन चाहन्छौँ,” उत्तेजक सार्वजनिक टिप्पणीका लागि परिचित कार्यकारी प्रमुख ओलेरीेले भने ।
र्यान एयरको बिक्रीका लागि सार्वजनिक रूपमा सूचना आएपछि यात्रीहरूको सङ्ख्याका आधारमा युरोपको सबैभन्दा ठूलो एयरलाइन्स मानिने र्यानएयर किन्ने बिषयमा सार्वजनिक राय लिइरहेका मस्कले केही दिनदेखि सुझाव लिएको पाइन्छ ।
टेस्लाको स्थापना गरेका र आफ्नो एयरोस्पेस कम्पनी स्पेसएक्सले विकास गरेको स्याटेलाइट इन्टरनेट प्रणाली स्टारलिङ्कका प्रमुख मस्क विश्वका सर्वाधिक धनी व्यक्तिमध्ये शीर्षस्थानमा रहेका उद्यमी हुन् ।
आयरल्याण्डका नागरिक ओलेरीले आफ्नो विमानमा वाइफाइ जोड्न स्टारलिङ्क प्रयोग गर्न अस्वीकार गरेपछि मस्कको यो भनाइ आएको हो ।
र्यान एयरको बजार मूल्य करिब ३० अर्ब युरो (३५ अर्ब डलर) रहेको छ । युरोपेली सङ्घको नियमले युरोपेली सङ्घका नागरिक वा युरोपेली सङ्घ बाहिरका केही निश्चित युरोपेली देशहरूको स्वामित्वमा रहेको एयरलाइन्स हुनुपर्ने व्यवस्था गरेको छ । मस्कले सन् २०२२ मा ४४ अर्ब डलरमा ‘एक्स’ किनेका थिए ।
