एनआरएनए यूकेद्वारा एल्डरशटमा सार्वजनिक अन्तरक्रिया कार्यक्रम आयोजना

लण्डन । बेलायतको एल्डरशटस्थित एम्पायर हलमा १८ जनवरीमा सार्वजनिक जानकारी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गैर–आवासीय नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्दै समसामयिक विषयमा जानकारी आदान–प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका विशेष अतिथि वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ केही कारणवश उपस्थित हुन नसकेपछि गैर–आवासीय नेपाली संघका उपाध्यक्ष विश्वासदीप टिगेलाले सहभागिता जनाए । उनले गैरआवासीय नेपाली समुदायको वर्तमान अवस्था, संगठनको भूमिका तथा आगामी प्राथमिकताका विषयमा विस्तृत धारणा राखेका छन् ।

कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले जेनजी आन्दोलनपछिको नेपालको राजनीतिक तथा भू–राजनीतिक अवस्था र भ्रष्टाचारविरुद्ध  ‘Save the Nation, Build the Nation’ अभियान सञ्चालन गर्ने उद्देश्यले च्यारिटी संस्था दर्ता गरी प्रभावकारी कार्यक्रमहरु विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

अन्तरक्रियात्मक सत्रमा एनआरएनए यूकेका कानूनी सल्लाहकार डा. धर्मराज थापा, वरिष्ठ खगेन्द्र पाठक, पूर्व अध्यक्ष योगेन्द्र बहादुर क्षेत्री, गैर–आवासीय नेपाली संघका मानार्थ सदस्य शान्ति थापा, प्रमुख संरक्षक डेभिड गुरुङ, गोर्खा हंगर स्ट्राइक क्याम्पेनका अभियन्ता धनबहादुर गुरुङ तथा पुष्प राणा घले, CNCBG अध्यक्ष थर्क राना, गेसोका उपाध्यक्ष धर्म तामाङ, पानसका महासचिव रमेश शाही, गैरआवासीय नेपाली संघका आइसीसी सदस्यहरु, सल्लाहकारहरु, SSC Wales का अध्यक्ष दीपक सुब्बा, प्रमुख सल्लाहकार डा. भिम पुन लगायत विभिन्न संस्थाका पदाधिकारी र प्रतिनिधिहरुले उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरुले उठाएका जिज्ञासा र सुझावहरुको जवाफ प्रमुख अतिथि टिगेलाले स्पष्ट र व्यावहारिक ढंगले दिएका थिए ।

एनआरएनए यूकेका प्रवक्ता डा. कुल प्रसाद कंडेलका अनुसार यस्ता सार्वजनिक जानकारी तथा अन्तरक्रिया कार्यक्रमहरुले समुदायका आवाज, सरोकार र सुझावहरुलाई संस्थागत तहसम्म प्रभावकारी रुपमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

कार्यक्रम एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको संयोजन उपाध्यक्ष अनिल मल्लले गरेका थिए भने सभा सञ्चालन महासचिव जुरेन्द्र खजुम लिम्बुले गरेका थिए । त्यस्तै, एनआरएनए यूकेका लागि भिडियोग्राफर तथा मिडिया प्रतिनिधिका रुपमा युकेनेपालन्युजका प्रबन्धक पारस थापालाई चयन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *