हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित

मुस्ताङ । पछिल्लो तीन वर्षयता हिमाली मुस्ताङमा हिमपात हुन सकेको छैन। गत कात्तिक महिनामा यहाँको माथिल्लो मुस्ताङ क्षेत्रसहित वारागुङ मुक्तिक्षेत्र- १ मुक्तिनाथ र (मुस्ताङ-डोल्पा) सडकको साङ्ता गाउँ आसपासका क्षेत्रमा आशिंक मात्रै हिमपात भयो। तत्कालीन समयमा बेमौसममा परेको आशिंक हिमपातले त्यसक्षेत्रका किसानलाई योगदान दिन सकेन।

हिउँदयामको मौसममा परेको हिउँ किसानका लागि बरदान सावित हुन्छ। अनुकूल समयमा हिउँ पर्‍यो भने अन्नबाली सप्रिने र उत्पादन वृद्धि हुने भए पनि यसवर्ष पनि पुस महिना कटिसक्दासमेत हिउँ पर्न सकेको छैन। अक्सर हिमाली क्षेत्रमा बर्सेनी पुस र माघ महिना हिउँ पर्छ भन्ने मान्यता छ। तर, पछिल्लो समय जलवायु परिवर्तनको प्रभावका कारण हिमाली क्षेत्रमा अनुकुल समयमा पनि हिउँ पर्न नसकेको घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकाली बताउँछन्।

यहाँका अधिकांश खेतीयोग्य जमिन तथा स्याउ बगैँचामा सिँचाइको पहुँच स्थापित भए पनि कृषि उर्वराशक्ति वृद्धिका लागि हिउँदयाममा हिउँ पर्न आवश्यक रहेको कृषि शाखा प्रमुख थकालीको भनाइ छ। हिउँदयामको जाडो मौसमको अनुकूल समयामा हिउँ परेमा खेतीयोग्य जमिनको भित्रि तहसम्म चिस्यान भरिएर पूर्णरूपमा रिचार्ज हुने र यसले स्याउ, उवा, फापर, जौ, मकै लगायतका अन्नबालीको गुणस्तर र उत्पादनमा सहयोग पुग्ने कृषि शाखा प्रमुख थकालीले बताए।

‘हिउँदयामको अनुुकूल महिनामा हिउँ परेन भने किसानले लगाएको स्याउ लगायतका अन्नबालीमा रोककीराको सङ्क्रमण बढ्ने, जमिनको तापमान वृद्धिले खेतीयोग्य जमिनलाई आवश्यक पर्ने तत्व प्राप्त नहुने हुन्छ, कृषि शाखा प्रमुख थकालीले भने, ‘हिउँदयामको हिउँ कृषि उत्पादनका लागि प्राकृतिक रोग प्रतिरोधात्मक अर्गानिक विषादीको रूपमा काम गर्छ, यसले किसानका लागि मलको रूपमा कामसमेत काम गर्ने भएकाले स्याउ लगायतका अन्नबाली सप्रिन्छ।’

हिमाली जिल्लामा बर्सेनी भर्दा र असोेज महिनामा स्याउ खेतीको ‘पोष्ट हार्भेस्ट’ गरिने र स्याउको पोष्ट हार्भेस्टसँगै यहाँका किसानले उवा, जौ र फापर लगायतका नयाँ बाली घरमा भित्र्याउँछन्। बगैँचामा स्याउ टिपेर बोटको पात झरेर उजाड बनेपछि र किसानले हिउँदेबाली लगाउने समय पुस र माघ महिनामा अनिवार्य हिउँ पर्नुपर्ने प्राकृतिक नियम भए पनि पछिल्लो तीन वर्ष मुस्ताङमा राम्ररी हिमपात हुन नसकेको घरपझोङका किसान अजित थकालीले जानकारी दिए।

स्याउ बगैँचा व्यवस्थापन लगायतका कार्य चलिरहने समयमा परेको हिउँले किसानलाई फाइदा पुर्‍याउने भए पनि मुस्ताङमा हिउँ पर्न नसकेको किसान थकालीको भनाइ छ। पछिल्लो समय हिउँ नपरी नदी र खोलाको पानीबाट सिँचाइ गर्दा खेतीयोग्य जमिनमा लगाइएको अन्नबालीमा रोगकीराको प्रकोप देखिएको र यसले यहाँका किसानलाई निकै चिन्ता थपिएको किसान थकालीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *