एजेन्सी । स्पेनिस लिग ला लिगामा बार्सिलोना पराजित भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना १० खेलाडीमा समेटिएको रियल सोसिडाडसँग २-१ गोलले पराजित भएको हो ।
इस्टाडियो मुनिसिपाल डी एनोएटामा भएको खेलमा सोसिडाडलाई जित दिलाउन मिकेल ओयार्जाबाल र गोन्जालो गुडेसले समान एक/एक गोल गरे । बार्सिलोनाको लागि मार्कुस रासफोर्डले एक गोल फर्काए । खेलको ३२ औँ मिनेटमा ओयार्जाबालले गोल गर्दै सोसिडाडलाई शुरूवाती अग्रता दिलाएका थिए ।
यसअघि बार्सिलोनाले पहिलो हाफमा गरेको दुई गोल भीएआरले रद्द गरेको थियो । ७० औँ मिनेटमा रासफोर्डले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए । एक मिनेटपछि गुडेसले गोल गर्दै फेरी सोसिडाडलाई २-१ गोलको अग्रता दिलाए । ८८ औँ मिनेटमा कार्लोस सोलेर रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि सोसिडाड १० खेलाडीमा समेटिएको थियो ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा सोसिडाड २-१ गोलले विजयी भएको हो । जितसँगै सोसिडाड २० खेलबाट २४ अंक जोड्दै अंकतालिकाको आठौँ स्थानमा उक्लिएको छ । समान खेलबाट ४९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा यथावत रहेको छ ।
