एजेन्सी । अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा मोरक्कोलाई १-० गोलले पराजित गर्दै सेनेगलले दोस्रोपटक अफ्रिकन कपको उपाधि जितेको हो ।
मोरोक्कोको स्टाडे प्रिन्स मोउले अब्दल्लाहमा भएको खेलमा सेनेगललाइ जित दिलाउन पापे गुएले निर्णायक गोल गरे । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयको चौथो मिनेटमा गाना गुएको पासमा पापे गुएले गोल गर्दै सेनेगललाई उपाधि जिताएका हुन् ।
यसअघि मोरोक्को निर्धारित समयको इन्जुरी समयमा पाएको पेनाल्टीलाई बलको जाली चुमाउन नसक्दा घरेलु मैदानमा स्तब्ध बनेको हो । इन्जुरी समयको २४ औँ मिनेटमा ब्राहिम डियाजले पेनाल्टी प्रहार सिधैं सेनेगलका गोलरक्षक एडवार्ड मेन्डीलाई दिएका थिए ।
व्यक्तिगततर्फ सेनेगलका फरवार्ड साडियो माने सर्वोत्कृष्ट खेलाडी चुनिए । यस्तै मोरोक्कोका गोरक्षक यासिन बोनो उत्कृष्ट गोलरक्षक र ब्राहिम डियाज सर्वाधिक गोलकर्ता बने ।
