काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका भ्रष्टाचार आरोप लागेका व्यक्तिलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गरी पाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्चमा पुनरावेदन दिएको छ ।
भ्रष्टाचार आरोपीलाई धरौटीमा छाड्ने आदेश दिएपछि थुनामै राखेर अनुसन्धान गर्नुपर्ने भन्दै अख्तियारले शुक्रबार सर्वोच्च अदालतलमा पुनरावेदन दिएको हो । विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्ली रत्न श्रेष्ठको इजलासले उनीहरूलाई मंसिर २३ गते धरौटीमा छोड्न आदेश दिएको हो।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले प्रदीप अधिकारी, महेशकुमार बस्नेत, अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय, मुरारी भण्डारी, नारायण गिरी र बाबुराम पौडेलविरुद्ध गत मंसिर २१ गते विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।
दायर गरिएको मुद्दामा उनीहरूसँग आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।
उक्त मुद्दामा विशेष अदालत काठमाडौंबाट प्रतिवादीहरूमध्येका प्रदीप अधिकारीलाई पाँच लाख रुपैयाँ र प्रतिवादी मुरारी भण्डारीलाई एक लाख रुपैयाँ धरौटी लिई रिहा गरेको थियो । यस्तै, प्रतिवादीहरू अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय, महेशकुमार बस्नेत, नारायण गिरी र बाबुराम पौडेललाई साधारण तारिखमा राख्ने आदेश गरेको थियो ।
