लुम्बिनी बौद्ध तथा हिमाली अध्ययन महाविद्यालयलाई प्रतिमा हस्तान्तरण

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत लुम्बिनी बौद्ध तथा हिमाली अध्ययन महाविद्यालयद्वारा आयोजित प्रतिमा हस्तान्तरण कार्यक्रम श्रद्धा र धार्मिक वातावरणबीच सम्पन्न भएको छ ।

कार्यक्रममा महाविद्यालयका पूर्व विद्यार्थी तथा योल्मो कान्यिङ शेडुप लिङ गुम्बाका प्रमुख लामा दुङ्जिन रिन्पोछे दावा सांग्बोले गुरु पद्म सम्भव (गुरु रिन्पोछे)को प्रतिमा तथा महाविद्यालयकै विद्यार्थी लोपोन कोशिस लोबसाङ वाइबाले आर्य मञ्जुश्रीको प्रतिमा महाविद्यालयका संस्थापक अध्यक्ष प्रा. डा. रमेशकुमार ढुङ्गेललाई हस्तान्तरण गरेका हुन् ।

प्रतिमा हस्तान्तरणअघि बौद्ध महायान तथा वज्रयान परम्परा अनुसार दुङ्जिन रिन्पोछेबाट दुबै प्रतिमाको प्राण प्रतिष्ठा (रब्ने) विधिपूर्वक सम्पन्न गरिएको थियो ।

आशीर्वचन प्रदान गर्दै दुङ्जिन रिन्पोछेले सम्पूर्ण प्राणी तथा मानव समुदायको कल्याण, महाविद्यालयका गुरुजन तथा विद्यार्थीहरूको सु–स्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामना गरे ।

कार्यक्रममा महाविद्यालयका पूर्व विद्यार्थी तथा बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक आचार्य मोहन कुमार तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी महाविद्यालयका तर्फबाट प्रधानाध्यापक डा. आङ ल्हामी शेर्पाले खादा अर्पण गर्दै मायाको चिनो स्वरूप गुरु रिन्पोछेको लकेट दुङ्जिन रिन्पोछेलाई प्रदान गरिन् ।

कार्यक्रमको समापन गर्दै महाविद्यालयका संस्थापक अध्यक्ष प्रा. डा. रमेशकुमार ढुङ्गेलले महाविद्यालयको शैक्षिक तथा आध्यात्मिक उन्नतिका लागि महत्वपूर्ण योगदानस्वरूप प्रदान गरिएका गुरु पद्म सम्भव तथा आर्य मञ्जुश्रीका प्रतिमाप्रति कृतज्ञता व्यक्त गर्दै प्रतिमा प्रदान गर्ने दुङ्जिन रिन्पोछे तथा लोपोन कोशिस लोबसाङ वाइबाप्रति आभार प्रकट गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *