‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त

काठमाडाैँ । ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा लामा मेन्री घेसे खेन्पो निग्मा कुन्क्याप नियुक्त भएका छन्। ‍संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्रीस्तरीय निर्णयले मंगलबार निग्मा कुन्क्यापलाई ५ वर्षका लागि नियुक्त गरेको हो।

उनलाई बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति (गठन) आदेश २०७५ को दफा ३ को उपदफा २ बमोजिम समिति अध्यक्षमा नियुक्त गरिएको मन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।

समाजसेवी कुन्क्यापले डोल्पो बोन स्कुल खोलेर सन् २००८ सालदेखि नै डोल्पा जिल्लाका गरिब असहाय बालबालिकाहरूलाई आवासीय सुविधासहितको शिक्षा प्रदान गर्दै आएका छन्।

को हुन् निमा

२०२१ फागुन २२ गते बाबु पाल्देन छिरिङ र आमा कर्मा डोल्माको कोखबाट डोल्पामा जन्मिएका निमा सानैदेखि चलाख र बौद्धिक थिए। उनी ८ वर्षको हुँदा आमा कर्माको घरको छानाबाट खसेर निधन भयो। आमाले जसोतसो स्कुल पढाउँदै राम्रो ख्याल पाएका निमाले आमाको मृत्युपछि धेरै दुःख र कष्ट भोग्नुपर्‍यो।

आमा बितेको तीन महिनापछिनै बाबुले अर्को बिहे गरे। घरमा अर्की आमा आएपछि उनले पढाई बिचमै छोड्नुपर्‍यो। तर उनको हजुरबुबा ताम्बा लामा भाषाका ज्ञाता थिए। उनैले निमालाई पढ्न र लेख्न प्रेरित गरे। दिउँसो गोठाला जानुपर्ने उनलाई हजुरबाले बिहान र बेलुका पढाउँथे।

उनी १३ वर्षको हुँदा बुबा छिरिङको पनि मृत्यु भयो। त्यसपछि उनले झन् धेरै दुःख र कष्ट पाउन थाले।

यद्यपी उनले लामा भाषा पढ्न र लेख्न थालिसकेका थिए। साथै हजुरबुबा र भाले रिम्पोचेबाट उनले विभिन्न देवी देवताको थाङ्का चित्र लेख्न र मूर्तिहरुको नाप लिन सिपालु भएका थिए।

प्राचीन समयदेखि नै बोन धर्मग्रन्थमा आधारित देवी देवताको क्रियाकलापको तस्वीरलाई जस्ताको त्यस्तै स्वरुप निर्माण गर्ने गरिन्थ्यो। त्यसकारण बोन धर्ममा थान्का कलाको महत्व अति नै रहेको छ।

१४ वर्षको उमेरपछि तीन वर्ष भित्र उनले शास्त्रोक्त भेट, धार्मिक कार्यमा प्रयोग हुने तोर्मोहरू बनाउन र तिनीहरुलाई मक्काएर धूलो बनाएको नौनीले सिगार्न मात्र नभएर उनका पहिलो गुरु बैजीबारा लामाबाट पाएको मौखिक निर्देशनसँगै पूर्वावस्थाका अभ्यासहरू र बोन संस्कृति अनुसारको उपदेशहरू पूरा गरे।

उनी १६ वर्ष हुँदा हजुरबुवाको पनि मृत्यु भयो। त्यसपछि उनलाई घरमा बस्ने इच्छा लागेन। त्यसपछि दुःखदायी प्रकृतिलाई त्यागेर उनले भिक्षु बन्ने निर्णय गरे।

१७ वर्षको उमेरमा २०३९ (१९८२) सालमा भारतको हिमाञ्चल प्रदेश पुगे। डोल्पाको बैजीबाराको सबैभन्दा ठूलो लामाले उनलाई सोल्यानस्थित दोलाञ्जीमा रहेको मेन्नी गुम्बामा पुर्‍याएका थिए। बोन धर्मको अध्यापन गराउने सोल्यान बोनमार्गीहरूको प्रमुख पाठशालामासमेत हो। यहाँ बोन सम्बन्धी दर्शनको अध्ययन हुने गरेको थियो।

त्यही मेन्री गुम्बामा प्रथम मेन्री ट्रिजिन रिम्पोचेको महापरिनिर्वाणको दिन थियो। त्यस विषेश दिनमा मेन्री ट्रिजिन रिम्पोचे र मन्रि योङजिन लोपोन रिम्पोचेबाट उनले आफ्नो पादरीको पद प्राप्त गरेका थिए।

त्यसपछि २०५१ (१९९४) सालसम्म करिब १३ वर्ष उनले क्रमिक रुपमा विभिन्न मुख्य दार्शनिक किताबहरू प्रमन अवस्थाहरु र बाटो (थल–मार्ग), यनक्रम (यनको अवस्था), प्रजनपरमिता, मध्यमिका, अभिधर्म, विनय, तन्त्र, झोग्सेन आदि अध्ययन गरे। उनले शुत्रका सबै मुख्य मुख्य किताबको अध्ययन गरे।

उनी तन्त्र र बोन संस्कृतिको विचार र हरेक प्रयास अध्ययन गर्न, आलोचना गर्न र अभ्यास गर्न मात्र नभएर अध्यापन गर्न, संवाद र लेखनमासमेत आफूलाई व्यस्त राखे।

यीबाहेक उनले साधारण विज्ञान जोतिष विज्ञान (खगोल शास्त्र) पृथ्वीको चक्रमापन, स्तुपा निर्माण सम्बन्धि ज्ञान पनि हाशिल गरे। उनले मानव जिवनमा आइपरेका घटनाको समाधानको निमित्त अभ्यास गरिने मुख्य सुत्र तन्त्र र बोन परम्परालाई कण्ठष्त गर्नुका साथै त्यसलाई लेख्ने, बोन धर्मसँगै सम्बन्धित धार्मिक प्रवचन दिन अभ्याससमेत गरे।

उनले शास्त्रीय साधनहरु र शास्त्रीय अर्पणहरू व्यवस्थित रुपमा मेन्री वंशावली अनुसार चलाउन सिके। यी बाहेक उनले पूर्ण मौखिक निर्देशनहरू र बोन धर्मको बाहिरी संस्कार, भित्री र गोप्य देवता जस्तो देवरूप पनि प्राप्त गरे।

२०५१ (१९९४) मा, उनी घेसेको अन्तिम परीक्षाको लागि मेन्री गुम्बाको भिक्षु, लामा र टुल्कुको समूह अगाडि गए र आदरणीय खेन्पो र आदरणीय लोपोन रिम्पोचेबाट तत्व निरूपण गर्ने उपाधि हासिल गरे।

त्यसपछि उनी भारतको उत्तर प्रदेशको वारणासी, सारनाथको तिव्वती उच्च शिक्षाको केन्द्रीय संस्थाको बोन शाखाको सह–प्राध्यापकको रूपमा नियुक्त भए।

उनले त्यहाँ सह–प्राध्यापकको रूपमा १३ वर्षसम्म काम गरे। बोन दर्शन अहिलेसम्म पनि उनले अध्यापन गराइरहेका छन्।

उनी आवद्ध संस्थाहरू

सन् १९८७–१९८९ मेन्री गुम्बाको पूजापाठको लागि लामाको नेतृत्व गर्ने सहायकको रूपमा काम गरे।

सन् १९९०–१९९३ मेन्री गुम्बाको पूजापाठको लागि लामाको नेतृत्व गर्ने मुख्य रूपमा काम गरे।

सन् १९८९–१९९४ मेन्री गुम्बाको आफूभन्दा तलका लामाहरूलाई प्रवचन, तार्किक, यानाक्रम, बाटोका अवस्था, तत्वका र ताराका ज्योतिषशास्त्र सिकाए।

सन् १९९१–१९९४ सोलान, दोलाञ्जीस्थित नेपाल बोन हित कल्याण समितिको अध्यक्ष र बोन–गो सम्पादकीय बोर्ड, सोलानको सदस्य बने।

सन् १९९५–९६, १९९८–९९, २००२–०३ सम्म बोन विद्यार्थी हित कल्याण समितिको अध्यक्ष, CIHTS सारनाथ।

सन् २००० CIHTS, सारनाथको छात्रबासको शिक्षक एक वर्षको लागि।

सन् १९९९–२००१ (सिआइएचटिएस) सारनाथको बोन शाखाको प्रमुख भएर काम गरे। साथै उनले त्यहाँ अध्ययनरत गरिब तथा असहाय विद्यार्थीलाई आवश्यक खर्चको लागि सहयोग गरे। शारनाथ बोन शाखालाई आवश्यक पुस्तक पूजापाठको सामग्री उपलब्ध गराउन सक्दो आर्थिक सहयोग प्रदान गरे।

सन् १९९९ नेपालको डोल्पा सदरमुकाम दुनैमा डोल्पो बोन समाज गठन गरी हालसम्ममा त्यसको अध्यक्ष।

सन् २००६ मा उनले डोल्पा सदरमुकाम दुनैको लामा पाइलामा करीब ४० लाख खर्च गरेर डोल्पो बोन समाजको नाममा रहने गरिने बोन स्तुपा निर्माण। सन् २००६ को डिसेम्बर ४ तारिखमा तत्कालीन प्र.जि.अ.बाट उदघाट्न। (उक्त स्तुपा निर्माणको लागि आवश्यक सामाग्री सिमेन्ट, फलामाको डण्डी तथा पुस्तक अन्य सामाग्री पुर्‍याउनको लागि हेलिकेप्टर चार्टर गरेर लगिएको कारण खर्च बढी लागेको हो।)

डोल्पाको दुनैमा स्तुपा निर्माण पश्चात लामा भाषाको शिक्षा दिन गरिब असहाय बालबालिकालाई बस्नको लागि आवासको निर्माण। घेसे निमा कुन्क्यापको प्रत्यक्ष आर्थिक सहयोगमा उक्त आवास निर्माण गर्न शुरु गरिएको छ। साथै उक्त आवाशको अनुमानित निर्माण लागत मुल्य ३२ लाख रहेको छ।

सन् २००१ देखि हालसम्ममा नेपालको नेपाल बोन धर्म संघको प्रमुख लामा।

नेपाल बोन धर्म संघद्धारा सञ्चालित नेपाल बोन सामुदायिक विद्यालयमा उनले सक्दो सहयोग गर्दै आएका छन्। साथै संघलाई आवश्यक पर्ने सहयोगसमेत आफैं जुटाउँदै आएका छन्।

विदेशमा अध्यापन

सन् २००० देखि उनले हालसम्म रसियाको मस्कोमा BON SANGA मा बोन धर्मको प्रवचन, पूजाआजा, ध्यान, तपस्याको बारेमा ज्ञान दिँदै आइरहेका छन्।

प्रारम्भिक अभ्यास, देवरूपको भृत्यवर्ग (नोकर चाकर) सँग् सम्बन्ध राख्ने मन्त्रको अभ्यास, राम्रो भाग्य सिद्ध गर्न शास्त्रीय भेट, प्राथमिक ज्यातिषशास्त्र, खगोलशास्त्र र जन्मकुण्डली सम्बन्धि उपदेश दिन सन् २००० देखि लगातार वर्षमा कम्तीमा दुई पटक बोन धर्म सम्बन्धी प्रवचन, (Meditioan) तपस्याको शिक्षा दिन मस्को जाने गर्छन्।

सन् २००४ देखि अमेरिकास्थित LIGMINCHA INSTITUTE को निमन्त्रणामा प्रत्येक वर्ष बोन शास्त्र सम्बन्धी शिक्षा, दिदै आइरहेका छन्।

सन् २००४ देखि मेक्सिकोस्थित GARUDA SANGA को निमन्त्रणामा प्रत्येक वर्ष बोन धर्म सम्बन्धि प्रवचन, जोतिष शास्त्रको बारेमा ज्ञान दिँदै आइरहेका छन्। साथै त्यहाँ निर्माणाधिन स्तूपामा आवश्यक सहयोग गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *