नयाँ नेतृत्वले सही बाटो समाउन सक्यो भने छुटेका र फुटेका आफैं जोडिन्छन्

-नारायण गाउँले ।

चुनाव त कांग्रेसले हिजो पनि जितेकै थियो । पहिलो दल पनि बनेकै थियो । एकाधबाहेक सबै चुनाव उसले जितेकै त छ । पछिल्लो समय त एमालेसँग मिलेर झन्डै दुई तिहाईको सरकारै थियो । के भयो त ? देशभर कांग्रेसको हाइ हाइ थियो ? देशमा सन्तुष्टि र शान्ति थियो ? सबै ठीक थियो त ?

यसपाली कांग्रेसले बहुमत ल्याउने सम्भावना त्यसै पनि थिएन । बढीमा पहिलो दल बन्दो हो । के हुन्थ्यो त ? पहिलो दल त हिजो पनि थियो । यसका सभापति भौतिक हिंसाको शिकार हुँदा र मन्त्रीहरू हेलिकप्टर चढेर भाग्दा कांग्रेस पहिलो दलमात्रै होइन सत्तामै त थियो । यथास्थितिमा, देउवाकै नेतृत्वमा कांग्रेसले चुनावै जिते पनि यसले आफ्नो सान्दर्भिकता र औचित्य पुष्टि गर्न सक्दैनथ्यो । कार्यकालको मिति तुरिँदासमेत महाधिवेशन नगरी आफै मिति थप्ने कांग्रेसले आममतदातासम्म पुगेर मत माग्ने आधार र मुद्दा के थियो त ?
हो, देउवामाथि आक्रमण हुँदा कांग्रेसका नेता बोलेनन् । तर देशभर कांग्रेस–एमालेका कार्यालय र घर जलेका थिए । कार्यकर्ताहरू ज्यान जोगाउन लुकेर हिँड्ने स्थिति थियो । गगन थापाकै घर जलेको थियो । त्यस दिन भेटिएको भए उनी पनि कुटिने थिए । पार्टी सभापति देउवा कुन कुन जिल्ला पुगेर ककसलाई सान्त्वना दिए त ? कुन नेता र कार्यकर्ताको पक्षमा बोले त ? देशभित्रै परिवर्तनको माग राखेर आन्दोलन गर्ने कलिला युवाहरूले ज्यान गुमाएका थिए, के देउवा तिनबारे केही बोले त ?

यथास्थितिमैं हुने चुनावमा एमाले र नेकपासँग मिलेर केही सिट बढी आउँदो हो, तर त्यसले न कांग्रेसलाई केही निकास दिन्थ्यो, न देशलाई ! देशका आम–युवामा देखिएको परिवर्तनको अद्भुत भोकलाई सम्बोधन नगरी चुनाव मात्रै जितेर केही हुन्नथ्यो ।

यो महाधिवेशनले त्यो यथास्थितिलाई भत्काएको देखियो । म्याद पुगेको र बहुमत कार्यकर्ताको सभाले विघटन गरिसकेको देउवा कार्यसमितिले कारबाही गर्ने कानुनी र राजनैतिक हक दुबै राख्दैन । कोठामा बसेर कारबाहीको चिठी लेख्दै गर्दा फिल्डमा भएका बहुमत महासमिति सदस्यलाई अपमान गर्न मिल्दैन ।
नेपाली राजनीतिले लिएको नयाँ कोर्स, परिवर्तन र सुधारको तीव्र चाहना अनि जेनजी विद्रोहपछिको जनअपेक्षा त आफ्नो ठाउँमा छँदै छ, म्याद सकिएको कार्यसमिति र विधान अनुसार पनि अबको कांग्रेस गगन थापा नेतृत्वकै हो । नेतृत्वले सही बाटो समाउन सक्यो भने छुटेका र फुटेका आफैं जोडिन्छन्, नेतृत्व नै गलत बाटो लाग्यो भने सबै जोडिएर पनि माखो मर्दैन । मरेको पनि थिएन ।

अस्ति भृकुटीमण्डपको आवाजले कांग्रेस भन्ने दल जिउँदै छ भन्ने सन्देश दिएको थियो । यो अधिवेशनले नयाँ नेतृत्व मात्रै होइन, नयाँ मुद्दा र वैचारिक धरातल दिएको छ । कांग्रेसलाई झन् मजबुत र सान्दर्भिक बनाएको छ । गगन थापा र नयाँ कांग्रेसलाई बधाई !

Leave a Reply

Your email address will not be published. Required fields are marked *