कांग्रेसको विशेष महाधिवेशन नेपाली राजनीतिमा पुरानाको पतनको आरम्भ हो

-घनश्याम भूसाल

काङ्ग्रेसको विशेष महाधिवेशन देउवाको मात्रै होइन घुमीघुमी सत्ताको कुर्चीमा बस्ने नालायक पुस्ताकै सङ्कट हो । नालायक पुस्ताको डोली बोकेर जिविका चलाएको अर्को पुस्तामाथि पनि उत्तिकै सङ्कट हो । यो नेपाली राजनीतिमा पुरानाको पतनको आरम्भ हो ।

संविधान बनेपछि समाजले त्यसलाई बोक्न सक्ने पार्टी खोजेको थियो । कम्युनिष्ट र काङ्ग्रेसहरुले त्यो काम गर्न सकेनन् । बालेन वा रविहरुलाई त्यही सामाजिक मागले जन्मायो । पुरानाका विरुद्ध उनीहरु लोकप्रिय छन् तर भरपर्दा भएनन् । समाजले भरपर्दा शक्ति खोजेको छ । भदौ २३ र २४ गतेपछि पुराना पार्टीका नेताहरुले सरक्क छोडेको भए अहिलेसम्म मुलुक ती पार्टीको वरिपरी गोलबन्द भइसक्थ्यो । एमाले र माओवादीका दरबारले रुपान्तरणलाई इन्कार गरे । काङ्ग्रेसमा जीवन छ कि भनेर अहिले जनताले आशाका नजरले हेरेका छन् ।

बेलायती र जर्मन सामन्त वर्ग आफूलाई रुपान्तरण गर्न तयार भए तर फ्रान्सेली र रसियाली सामन्तहरु कूपमण्डुक, अयोग्य थिए । रुपान्तरणका लागि तयार भएनन् । परिणाम के भयो भने फ्रान्सेली र रसियाली दरबारहरुको अन्त्य भयानकरुपले हिंसात्मक भयो । इतिहासमा बाँच्ने भनेको रुपान्तरित हुँदै बाँच्ने हो । रुपान्तरित हुन योग्यता चाहिन्छ । अयोग्यले समयको शक्तिसँग सामना गर्नै पर्छ । यो इतिहासको नियम हो, संसारभरी यस्तै भएको छ ।

देउवा दरबारले सम्भवतः शक्ति बाँडफाँट गर्ने ‘म्याग्ना कार्टा’ मा सहिछाप गर्ने छ । त्यसले यस कठिन परीक्षामा नेपाली काङ्ग्रेसको उद्धार गर्नेछ । दुर्भाग्यवश, कमरेड ओली र कमरेड प्रचण्डका अयोग्य दरबारले लुईं सोह्रौँ वा जार निकोलस द्वितियको बाटो लिएका छन् । परिणाम स्पष्ट छ ः न सम्राट रहन्छन्, न साम्राज्य । समय छँदै यिनीहरुले सोचेनन्, अब भग्नावशेषमाथि बसेर सोच्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *