ग्रिनल्यान्डमा अमेरिकी आक्रमणको जोखिम कम रहेको जर्मनीको आँकलन

वासिङ्टन। जर्मनीका शीर्ष कूटनीतिज्ञले डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारम्बारको धम्कीका बाबजुद त्यहाँ अमेरिकी आक्रमणको सम्भावनालाई न्यून आकलन गरेका छन् ।

राष्ट्रपति ट्रम्पले वर्षौंदेखि आर्कटिक क्षेत्रमा अवस्थित ग्रिनल्यान्डलाई खरिद गर्ने वा अमेरिकामा विलय गर्ने विचार सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन् । यसै साता उनले संयुक्त राज्य अमेरिकाले ‘कुनै न कुनै तरिकाले’ यो क्षेत्र आफ्नो नियन्त्रणमा लिने भन्दै अभिव्यक्ति दिएपछि कूटनीतिक तनाव थप चुलिएको छ ।

ट्रम्पले एकपक्षीय सैन्य कदम चाल्न सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले आफूसँग ‘यसलाई गम्भीरताका साथ लिइरहेको कुनै सङ्केत नभएको’ स्पष्ट पारे । अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आर्कटिक क्षेत्रमा उत्पन्न हुने सुरक्षा चुनौतीहरू सबैको साझा चासोको विषय भएको बताए ।

“म विश्वास गर्दछु कि आर्कटिक क्षेत्रमा देखिने सुरक्षा सम्बन्धी विषयहरू समाधान गर्न साझा चासो छ र हामीले त्यस दिशामा काम गर्नुपर्छ र गर्नेछौँ”, मन्त्री वाडेफुलले भने । उनका अनुसार नेटो यस विषयमा थप ठोस योजनाहरू विकास गर्ने प्रक्रियामा छ, जसबारे अमेरिकी साझेदारहरूसँग छलफल गरिनेछ ।

यो अभिव्यक्ति यसै हप्ता वासिङ्टनमा अमेरिकी विदेशमन्त्री रुबियो, डेनमार्क र ग्रिनल्यान्डका शीर्ष कूटनीतिज्ञहरूबीच हुने वार्ताअघि आएको हो । यसैबीच, ग्रिनल्यान्डको सरकारले सोमबार पुनः स्पष्ट गर्दै ‘कुनै पनि परिस्थितिमा’ अमेरिकी अधिग्रहण स्वीकार नहुने जनाएको छ ।

अमेरिकी काङ्ग्रेसका सदस्यहरूले पनि सोमबार जारी गरेको विज्ञप्तिमा स्विट्जरल्यान्डको डाभोसमा आयोजना हुने विश्व आर्थिक मञ्चमा सहभागी हुने क्रममा एक प्रतिनिधिमण्डल शुक्रबार र शनिबार कोपेनहेगन जाने जानकारी दिएका छन् । डेमोक्रेटिक सिनेटर क्रिस कुन्सले विज्ञप्तिमा प्रतिनिधिमण्डलले व्यापारिक तथा सरकारी नेताहरूसँग भेट गरी ‘आर्कटिक सुरक्षालाई सुदृढ पार्ने र बलियो व्यापारिक सम्बन्ध प्रवर्द्धन गर्ने’ विषयमा छलफल गर्ने बताए ।

त्यसैगरी, रिपब्लिकन सिनेटर थोम टिलिसले काङ्ग्रेसले सहयोगी राष्ट्रहरूको समर्थन गर्नु र डेनमार्क तथा ग्रिनल्यान्डको सार्वभौमिकताको सम्मान गर्नुमा एकजुट हुनु अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरे ।

ग्रिनल्यान्ड र नाटोले सोमबार नै आर्कटिक क्षेत्रको रक्षा प्रणाली थप बलियो बनाउन संयुक्त रूपमा काम गरिरहेको जानकारी दिएका छन् । यही सुरक्षा चासोलाई  उदृत गर्दै राष्ट्रपति ट्रम्पले आर्कटिक क्षेत्रमा बढ्दो रूसी र चिनियाँ गतिविधिलाई ग्रिनल्यान्डमाथि अमेरिकाको नियन्त्रण आवश्यक हुने कारणका रूपमा बारम्बार उल्लेख गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *