क्यानाडाली प्रधानमन्त्री चीन भ्रमणमा

बेइजिङ । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी चीनको आधिकारिक भ्रमणका लागि जनवरी १४ देखि १७ सम्म चीन आउने भएका छन्। यस भ्रमणका लागि उनी चीनका प्रधानमन्त्री ली च्याङको विशेष निमन्त्रणामा आउन लागेका हुन्। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार जानकारी दिए।

प्रवक्ता माओले यस भ्रमणलाई क्यानाडाली प्रधानमन्त्रीको आठ वर्षपछि पहिलो चीन यात्रा भएको उल्लेख गर्दै, चिनियाँ पक्षले यसलाई विशेष महत्व दिएको बताए। उनका अनुसार, चिनियाँ राष्ट्रपति शी जिनपिङले क्यानाडाली प्रधानमन्त्रीसँग भेट गरी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउन मार्गनिर्देशन प्रदान गर्नेछन्।

साथै, चिनियाँ प्रधानमन्त्री ली च्याङ र राष्ट्रिय जनप्रतिनिधि सभा स्थायी समितिका अध्यक्ष झाओ लेजिले क्यानाडाली प्रधानमन्त्रीसँग अलग-अलग बैठक र विचारविमर्श गर्नेछन् । यी बैठकहरूमा द्विपक्षीय सम्बन्धका साथै साझा चासोका विषयमा सम्मानपूर्वक र गहिरो छलफल हुने अपेक्षा गरिएको छ।

प्रवक्ता माओले थपे, “चीन–क्यानाडा सम्बन्धको स्थिर र सकारात्मक विकासले दुवै देश र जनताको साझा हितमा योगदान पुर्‍याउने मात्र नभई, विश्व शान्ति, स्थिरता, विकास र समृद्धिमा समेत सहयोग पुर्‍याउनेछ।”

चीन यस भ्रमणलाई संवाद र संचारलाई प्रवर्द्धन गर्ने, राजनीतिक आपसी विश्वास सुदृढ गर्ने, व्यावहारिक सहकार्य विस्तार गर्ने तथा मतभेदलाई सम्मानपूर्वक व्यवस्थापन गर्ने अवसरका रूपमा लिन चाहन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *