गगन र विश्वप्रकाशबाट अन्य पार्टीका युवा नेताहरूले सिक्नुपर्ने कुरा

-रामप्रसाद ज्ञवाली

म कुनै पनि राजनीतिक पार्टीको सदस्य छैन । त्यसैले कुनै एक राजनीतिक पार्टी र तिनका कुनै नेता–कार्यकर्ताप्रति न अत्याग्रह छ, न दुराग्रह । निश्चय नै म देशको स्वाभिमान, सार्वभौमिकता र जनताको हकअधिकारका पक्षमा उच्च आग्रह राख्छु भने राजनीतिक क्षेत्रमा भइरहेका गतिविधि र प्रभावबारे पनि चासो राख्छु, वैचारिक पक्षधरता स्पष्ट छ । त्यसैले सुन्छु, हेर्छु, आफ्नो बोधअनुरूप विश्लेषण गर्छु र लागेको कुरा बोल्छु पनि ।

यसै परिप्रेक्ष्यमा अचेल म राजनीतिक पार्टीका अधिकांश नेता–कार्यकर्ताले सामाजिक सन्जाल र कार्यक्रमहरूमा बोल्ने गरेका असभ्य र अशिष्ट बोलीवचन तथा तिनले प्रयोग गरिरहेको भाषाको तुच्छता देखेर व्यथित भइरहन्छु । ‘नेपालका राजनीतिक पार्टीका नेता–कार्यकर्ता यति धेरै असभ्य, अशिष्ट, अराजनीतिक र अमर्यादित कसरी हुन सकेका हुनन् ?’ भन्ने कटु प्रश्नले मनमा चास्स च्वास्स घोचिरहन्छ ।
यसैबीच हिजो नेपाली काङ्ग्रेसका महासचिवद्वय गगन थापा र विश्वप्रकाश शर्माको भाषण टिभीमा सुनेँ ।

दुवैले आत्मालोचनासहित उन्माद र फोहर गालीगलौज गर्नबाट बचेर आफ्ना कुरा प्रस्तुत गरे । यिनीहरूले नेताको दासता त्याग्न सन्देश पनि दिए । यिनीहरूबाट अन्य पार्टीका युवा नेताहरूले पनि सिक्नुपर्छ । असल नेता–कार्यकर्ता हुनु भनेको हनुमानगिरी गर्नु र दासता स्वीकार गर्ने कारिन्दा हुनु होइन, बरु युगीन आवश्यकताको बोध र उचित निर्णय गर्ने क्षमता प्रदर्शन गर्ने पात्र हुनु हो। उन्मत्त भएर कसैलाई अशिष्ट गालीगलौज नगरी सङ्केत र लक्षणामा नै गर्नुपर्ने जति आलोचना गरेर पनि राम्रो र प्रभावशाली भाषण गर्न सकिन्छ भन्ने कुरा पनि यिनीहरूबाट सबै दलका नेता–कार्यकर्ताले सिक्नुपर्ने देखिन्छ ।

सबै दलका नेता–कार्यकर्तासँग मेरो अनुरोध छ :
– मुखबाट वाणी प्रस्तुत गर्नुस्, मुखलाई थुतुनो बनाएर त्यही थुतुनोबाट फोहर बमन नगर्नुस् !!!
– मुखबाट बोलुन्जेल तपाईं मान्छे रहनुहुन्छ, मुखलाई थुतुनो बनाएर त्यही थुतुनोबाट कराउन थाल्नुभयो भने पशु बन्नुहुन्छ !!!
– असभ्य र अराजकताको होइन, राजनीतिक विचार र विचारअनुरूप व्यवहार गर्नुस् !!!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *