कांग्रेस फुट्नु राम्रो कि नराम्रो ?

-डा. जीवन क्षेत्री

कांग्रेसी साथीहरु अहिले कुनै पनि मूल्यमा पार्टी फुट्न दिंदैनौं भन्दैछन् । त्यो स्वभाविक हो । म पनि पार्टीभित्र भए शायद त्यही भन्थें । तर पार्टीबाहिर बसेर हेर्दा म देख्छु यो पार्टी अहिले फुट्दा देश र काँग्रेस दुवैको भलो छ । पार्टी अहिले फुट्यो भने, जसको सम्भावना अधिक छ, पहिलेको जस्तो दुई फ्याक हुने हैन । यसमा नेपाली कांग्रेसको विरासत बोकेर पार्टीलाई अघि बढाउन चाहने जीवित काँग्रेसीहरु एकतिर लाग्ने हुन् । काँग्रेसलाई ओलीको चरणमा लगेर सेलाउन चाहनेहरु, पार्टीको खरानी बेचेर केही थान पद र दण्डहीनता हासिल गर्नेहरु अर्कोतिर लाग्ने हुन् ।

पार्टीबाट ती निस्कनु भनेको सर्पले काँचुली छाड्नुजस्तै हो भन्ने मेरो मूल्यांकन हो । अहिले पार्टी फुटेन नै भने पनि दोहन, तिकडम र भ्रष्टाचारमा चुर्लुम्म वयोवृद्ध नेताहरु र तिनका आसेपासेहरु पार्टीका लागि सधैंभर काउछो बनेर बसिरहने हुन् । अंग्रेजीमा भन्नुपर्दा ती पार्टीका dead–weight हुन् जसको भारी बोकेर माथि तैरिन अब यो पार्टीलाई सम्भव छैन । देउवा होउन्, सिटौला होउन्, सिंह होउन्, कोइरालाद्वय होउन्, खड्का र निधि होउन्, तिनलाई सँगै, शीर्ष तहमा राखेर नयाँ युग सुहाउँदो काँग्रेस बन्न सम्भव देखिंदैन । बरु पार्टी फुट्यो भने अहिलेलाई त्यो घाउ नै बन्ला । तर पिलो नचिरी निको हुँदैन । क्यान्सर लागेको अंग नफाली ज्यान बच्दैन ।

विशेष महाधिवेशनले पुराना नेताहरुको कार्टेललाई सिनित्त पारेर सिंगो पार्टीमा नयाँ नेतृत्व ल्याउने भए कुरा बेग्लै हुन्थ्यो, त्यो सम्भावना देखिंदैन । त्यसो नहुँदा काँग्रेसलाई देउवाको दोहनतन्त्रबाट जीवन्त राजनीतिक दलमा बदल्न चाहनेहरु आफ्नो बाटो लाग्नु दीर्घकालमा कांग्रेस र देश दुवैका लागि हितकर हुन्छ भन्ने मेरो मूल्यांकन हो । कतिसम्म भने, नेपाली कांग्रेस नाम र रुख चिन्ह नै कपटपूर्वक देउवा कार्टेलले राख्न सक्यो भने पनि नयाँ नाम र चिन्ह लिएर बन्ने राजनीतिक संरचनाले काँग्रेसको साख र विरासत कायम राख्न सक्छ । राजनीतिक रुपमा लास बनिसकेकाहरुलाई घिसारेर अघि जानु राम्रो विकल्प हो भन्ने कुरालाई मेरो मनले चाहिं मान्दैन । बाँकी कांग्रेसजनकै मर्जी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *