बीसवटा गोही राप्ती नदीमा छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका २० वटा गोहीलाई प्रकृतिमा छोडिएको छ । आज दिउँसो ती गोहीलाई सौराहा घाटबाट राप्ती नदीमा छाडिएको हो ।

छाडिएका गोहीमध्ये पाँचवटा भाले र १५ वटा पोथी छन् । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई राप्ती, नारायणी नदीमा छोड्दै आइएको छ । यस आर्थिक वर्षमा यीबाहेक ५२ वटा गोही नदीमा छाडिसकिएको छ ।

मगरका अनुसार सन् २०२२ मा जन्मिएका ३०० वटा गोही प्रकृतिमा छोड्नका लागि तयारी अवस्थामा छन् । यस आर्थिक वर्षमा ती गोहीलाई नदीमा छाड्ने योजना रहेको उनले बताए । उनले भने, “अहिले गोही प्रजनन केन्द्रमा छ सय ९७ वटा गोही छन् ।”

अहिलेसम्म यहाँ हुर्काइएका दुई हजार १४२ वटा गोही नदीमा छाडिएको उहाँले जानकारी दिनुभयो । विसं २०३५ मा स्थापना गरिएको घडीयाल गोही प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई प्राकृतिक बासस्थानमा छाड्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *