विशेष महाधिवेशन फिर्ता लिन खड्काको प्रस्ताव, महामन्त्री थापाद्वारा अस्वीकार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन फिर्ता लिने प्रस्ताव अस्वीकार गरेका छन् ।

बिहीबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति खड्काले राखेको प्रस्ताव महामन्त्री थापाले अस्वीकार गरेका हुन् । बैठकमा कार्यवाहक सभापति खड्काले महाधिवेशनको कार्यसूची आइसकेकाले यस्तो बेलामा विशेष महाधिवेशन आवश्यक नभएको भन्दै फिर्ता लिन प्रस्ताव गरेका थिए ।

तर खड्काको प्रस्तावलाई महामन्त्री थापाले अस्वीकार गरेका थिए । बैठकपछि महामन्त्री थापाले विशेष महाधिवेशन माग गर्नुको मुख्य उद्देश्य आगामी चुनावअघि पार्टीमा नयाँ नेतृत्व ल्याउनु रहेको बताए ।

खड्काले पेस गरेको प्रस्तावमा यस्तो संवेदनशील बेलामा विशेष महाधिवेशन गर्दा पार्टी विभाजन हुने उल्लेख छ । तर महामन्त्री थापाले यसमा आपत्ति जनाए ।

उनले भने, ‘विधानको पालनाको गर्दाखेरि पार्टीलाई विभाजनतर्फ लैजान्छ भन्ने कुराको हौवा किन पिटिराखेको ? पार्टी टुट्ने भनेको औपचारिक रुपमा पार्टी टुट्ने होइन, पार्टीका कार्यकर्ताको विश्वास टुट्ने कुरा हो । पार्टी जुनै निर्णयमा पुगे पनि कार्यकर्तासँग एक ठाउँमा बसे पो पार्टीका साथीहरुको मन रहन्छ ।’

विशेष महाधिवेशन माग गर्ने आफूहरु नभएको भन्दै उनले सिनियर जुनियर ४० प्रतिशत रहेको बताए । उनले भने, ‘४० प्रतिशतले माग गर्दा महाधिवेशन हुनुपर्छ भनेर विधानमा भनिएको छ, माग गर्दा पनि महाधवेशन बोलाइएन भने के गर्ने भन्ने कुरा कतै लेखिएको छैन ।’

उनले खड्काको प्रस्ताव विधानसम्मत नभएको बताए । उनले बैठकमा कार्यवाहक सभापतिमार्फत पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा आमन्त्रण गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *