चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण गर्न जमिन खरिद

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको छ । समुदायस्तरबाट सहयोग जुटाएर खरिद गरिएको तीन रोपनी छ आना जग्गामा खेलमैदानको पूर्वाधार निर्माण थालिएको हो ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २० लाख बजेटबाट खेलमैदानको डिलतर्फ पर्खाल निर्माण र जग्गा सम्याउने काम गरिएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

“खेलमैदान अभावमा युवायुवतीलाई खेलअभ्यास गर्न समस्या भएपछि घार युवा क्लबले गत वर्ष रु २८ लाखमा जग्गा खरिद गरेको थियो”, उनले भने, “चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको बजेटको काम सकिएको छ । प्रदेश सरकारले विनियोजन गरेको रु पाँच लाख बजेटबाट थप संरचना निर्माण गर्न बाँकी छ ।”

क्लबले खरिद गरेको जग्गाको नजिकै रहेको थप दुई रोपनी सार्वजनिक जमिनमा रहेको ढुङ्गालाई पनि पन्छाएर खेलमैदान बनाउने योजना छ । ठूला ढुङ्गा फुटाउनका लागि मध्य कालीगण्डकी जलविद्युत् आयोजनासँग सहयोग मागिएको वडाध्यक्ष खड्काले बताए ।

पैतालीस मिटर चौडाइ र ७० मिटर लम्बाइमा फुटबल, भलिबल, बास्केटबल खेल सञ्चालन गर्न सकिने प्यारापिट र स्टेजको संरचनासहितको खेलमैदान निर्माण गर्न रु एक करोड १९ लाख लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ ।

आगामी वर्षमा पनि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमा पहल गरेर थप बजेट व्यवस्थापन गरी खेलमैदान निर्माणलाई पूर्णता दिने वडाध्यक्ष खड्काले बताए । खेलमैदान निर्माण गर्न विभिन्न सङ्घसंस्था र चन्दा सङकलन गरेर रु २८ लाख ४२ हजारमा गत वर्ष घार युवा क्लबले जग्गा खरिद गरेको थियो ।

घारखोला जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत उपलब्ध गराएको रु १३ लाख ५० हजार, चन्दामार्फत रु पाँच लाख ५५ हजार परिचालन गरिएको खेलमैदान खरिदका लागि हाल जापानमा रहेका घारका ददीवल खड्काले व्यक्तिगत रूपमा रु पाँच लाख सहयोग गरेका छन् ।

घार कोटमन्दिरबाट रु एक लाख ६५ हजार, शिवकुमार बरुवालले रु ५० हजार, कमल बरुवालले रु ५५ हजार, अन्नपूर्ण वन संरक्षण उपसमितिले रु एक लाख १० हजार सहयोग गरेका र रु ७० हजार ऋण रहेको घार युवा क्लबका अध्यक्ष सागर खड्काले बताए  । घारका बल्लिका बरुवालबाट रु २१ लाखमा दुई रोपनी १३ आना तीन दाम र भुपाल कार्कीबाट १० आना तीन पैसा क्षेत्रफलको जग्गा रु सात लाखमा खरिद गरिएको खड्काले बताए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *