-नारायण गाउँले ।
देवरबाबुका नाममा ब्रान्डिङ गरिएका यी दुईले भाउजू या दाइको प्रभुत्व र मिच्याइँविरुद्ध खुलेर आवाजमात्रै उठाएनन्, चुनावमै भाउजूका क्यान्डिडेटलाई हराएर महामन्त्रीको चुनाव जितेका थिए । गगन थापाले त संसदीय दलको नेतामा देउवाविरुद्ध चुनाव नै लडेका थिए । सफल भएको भए देउवाका ज्योतिष उहिल्यै फेल खान्थे । जसले गोडा मलेर बारम्बार अवसर उम्क्याए, तिनैले खुलेर चुनाव नै लडेका यिनलाई देवरबाबु भन्दै ब्रान्डिङ गर्ने प्रयास गरे ।
गगन र विश्वप्रकाश महामन्त्रीमा जित्नु आफैंमा ठूलो कुरो थिएन । तर तिनको च्यालेन्जले हरेक पार्टीमा नेतृत्व परिवर्तन र पुस्तान्तरणमा ठूलो मद्दत गरेको छ । कांग्रेसमैं कति धेरै युवा पदाधिकारीले जितेका छन् । स्थापित पार्टीभित्र सङ्घर्ष र परिवर्तन कति मुस्किल हुन्छ भन्ने अहिलेको द्वन्द्वले देखाउँछ ।
यिनले जेनजी विद्रोह र ठूलो उथलपुथलपछि कांग्रेसको हुनैपर्ने अधिवेशन समयमै गरौँ भन्ने जिम्मेदार माग राखेका थिए । यसमा मति बिग्रिएको बाहेक अन्यले आपत्ति जनाउनुपर्ने केही थिएन । समय बाँकी छँदै एमालेले महाधिवेशन गरिसक्यो । कांग्रेसको त म्याद पनि सकिएको थियो । देशभरि यत्रो असन्तुष्टि र आक्रोश भएको बेला म्याद सकिएको कार्यकाल आफूखुसी थपेर रमिता नगरौं भनेका थिए । अवधि सकिएपछि नयाँ नेतृत्व चयन गरौँ र चुनावमा जाऔं भनेका थिए । त्यो पनि एकाएक र अन्तिममा होइन, महिनौं अगाडि । सिङ्गो देशको चुनाब गर्न भ्याइने, पार्टीको नभ्याइने ?
विशेष परिस्थिति भएकाले विधानअनुसार विशेष महाधिवेशन गरौँ भन्ने प्रस्ताव थियो । नियमित महाधिवेशन पनि स्वीकार गरेकै थिए । एउटा लोकतान्त्रिक दलले अनेक षड्यन्त्र गरेर महाधिवेशन रोक्ने, एक्सपायर्ड भएको कार्यसमितिको म्याद थप्ने अनि समयमैं महाधिवेशन गरौँ भन्ने नेताहरूलाई कारवाही गर्ने भन्ने रमिता पनि देख्न पाइने भयो । एउटा लोकतान्त्रिक दलले त महाधिवेशन भाँड्नेलाई पो कारबाही गर्ने हो ।
कुनै ठोस कारण, कुनै ठोस योजना र कुनै औचित्यबिना तीनचार महिना भए पनि म्याद थपेर पदमा टाँसिइराख्न खोज्ने हुतिहाराहरूले पार्टीको प्रत्यक्ष र समानुपातिक दुबैमा लड्दिन, अरूलाई पालो दिन्छु भन्ने महामन्त्री, त्यसमा पनि जो एकपल्ट पनि सरकारमा गएको छैन, उसलाई कारबाही गर्ने ! त्यस्तो कारबाहीको छेउमा बसेर ताली बजाउने कांग्रेसी चेतनालाई एक क्विन्टल कुरी कुरी ! यदि त्यस्तो भयो भने बाँकी कुरी कुरी त फागुन २२ गतेको समाचारले गर्ने नै छ ।
