‘पार्वत गुरुङ्गको नाम एकल सिफारिस गरिनु अत्यन्तै गैरजिम्मेवार र अपमानजनक कार्य हो’

२०७९ सालमा सम्पन्न आम निर्वाचनमा म नेकपा (एमाले) का तर्फबाट उम्मेदवार भई ३१५ मतको अत्यन्तै न्यून अन्तरले पराजित भएको तथ्य सर्वविदित नै छ । उक्त निर्वाचनमा पार्टी, कार्यकर्ता तथा भगवानरुपि मतदाताहरुबाट प्राप्त साथ, सहयोग, समर्थन र विश्वासप्रति म सधैं आभारी छु, ऋणी छु ।

हिजो आयोजना भएको जिल्ला कमिटी दोलखाको ११ औ बैकमा उक्त निर्वाचनमा पराजयको कारणलाई लिएर ‘कमजोर उम्मेदवार भएकाले पराजित भएको’ भन्ने लाञ्छना लगाइनु, साथै पार्टीप्रति मैले हालसम्म पुयाउँदै आएको योगदानको अवमूल्यन हुनु अत्यन्तै दुःखद र आपत्तिजनक विषय हो । यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी लगायत ५ दलीय गठबन्धनका विरुद्ध निर्वाचनमा होमिएको विषम परिवेशमा यति कम मतान्तर हुनु विजय सरह हो भन्ने लागेको छ । महागठबन्धन पराजयको प्रमुख कारण हो भन्ने समीक्षा पार्टीले गर्दा गर्दै पराजयलाई व्यक्ति विशेषको कमजोरीसँग मात्र जोडेर हेर्नु तथ्यपरक, न्यायोचित र संगठनात्मक मूल्य– मान्यताअनुसार नभएको मेरो स्पष्ट धारणा छ ।

अत्यन्तै न्यून मतान्तरले भएको पराजयले म कमजोर उम्मेदवार होइन, जनतामाझ उल्लेखनीय स्वीकार्यता र विश्वास रहेको उम्मेदवार भएको प्रमाणित गर्दछ । निर्वाचन परिणाम सामूहिक प्रयास, परिस्थितिजन्य कारण र संगठनात्मक रणनीतिसँग जोडिएको विषय हो, न कि एक्लो उम्मेदवारको क्षमतासँग मात्र ।
२०८२ साल फागुन २१ गते हुने आगामी निर्वाचनका सन्दर्भमा नेकपा एमाले जिल्ला कमिटी दोलखाले उम्मेदवार सिफारिस गर्ने क्रममा पार्टीको स्थापित मापदण्ड र विधिको गम्भीर उल्लङ्घन गरेको प्रति मेरो गहिरो आपत्ति रहेको छ। पार्टीको उम्मेदवार सिफारिस सम्बन्धी मापदण्ड अनुसार एकभन्दा बढी व्यक्तिले उम्मेद्वारी दाबी गरेको अवस्थामा कम्तीमा एक महिला सहित ३ जना उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने स्पष्ट प्रावधान छ। तर क. बालकृष्ण शिवाकोटी, क. रचना खड्का, क. श्याम बस्नेत र क. डबल पाण्डे लगायतका उम्मेद्वारहरूको दाबी कायम रहँदा रहँदै बैठक सुरु हुनु अगाडि/चलिरहेका समयमा नै सामाजिक सञ्जालमार्फत प्रायोजित व्यक्तिहरूबाट निर्णय हुनुअगावै क. पार्वत गुरुङ्गको नाम
एकल सर्वसम्मत सिफारिस भएको भ्रामक अभिव्यक्ति सार्वजनिक गरिनु अत्यन्तै गैरजिम्मेवार र अपमानजनक कार्य हो ।

यसरी पार्टीभित्र छलफल र निर्णयको प्रक्रिया जारी रहँदा रहँदै नेतृत्वले तिकडमबाजी गर्दै क. पार्वत गुरुङ्गको नाम एकल रूपमा सिफारिस गर्न खोज्नु पार्टीको आन्तरिक लोकतन्त्र, विधि र न्यायको घोर अपमान हो । बहुमतको बलमा दाबी गर्ने सबै उम्मेदवारहरू मात्र होइन, सम्पूर्ण पार्टी कार्यकर्ता तथा दोलखाली जनमानसलाई नै अपमानित र स्तब्ध बनाउने खालको निर्णय गरिएको छ, जसले आम दोलखाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पक्कै पनि अप्रिय अनुभूति गराएको छ भन्ने मेरो विश्वास छ ।

म स्पष्ट गर्न चाहन्छु कि २०८२ सालमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा म पुनः उम्मेद्वार भई जनताबाट अनुमोदित हुने तीव्र इच्छा र दृढ अठोटका साथ अघि बढिरहेको छु । पार्टीको विधान, मापदण्ड र लोकतान्त्रिक अभ्यासको सम्मान गर्दै मेरो उम्मेदवारीमा दाबी यथावत् कायम रहेको जानकारी यसै प्रेस विज्ञप्तिमार्फत सम्प्रेषण गर्दछु ।

२०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा मलाई भोट गर्नुहुने सम्पुर्ण मतदाता, सुभेक्षुक, शुभचिन्तक समक्ष मेरो पुनः उम्मेदवारी हुने र जनताबाट निर्वाचित भई सेवा गर्ने सोच रहँदा रहदै पनि सुनियोजित रुपमा सिफारिस नगरिएको जानकारी यसै विज्ञप्तिमार्फत न्यायप्रेमी जनता कार्यकर्ता तथा शुभेच्छुकमा समक्ष जानकारी गराउर्दछु । अन्त्यमा, पार्टी नेतृत्वसमक्ष विधि, न्याय र एकताको मार्ग अवलम्बन गर्न, सबै दाबी गर्ने उम्मेदवारहरूको सम्मान गर्दै निष्पक्ष निर्णय गर्न तथा पार्टी र जनताको भावनाको कदर गर्न हार्दिक आग्रह गर्दछु ।
धन्यवाद ।

– बालकृष्ण शिवाकोटी
सचिवालय सदस्य
नेकपा एमाले
वागमती प्रदेश कमिटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *