नेपालका उच्च अधिकारीहरुको हत्याको धम्की दिने प्रकाश पाठक फिलिपिन्समा पक्राउ

काठमाडौँ । विदेशमा बसेर नेपालका उच्च अधिकारीहरुको हत्या गर्ने धम्की दिने प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन् ।

फिलिपिन्सको अध्यागमन ब्यूरोले पाठकलाई गत डिसेम्बर ३१ मा फिलिपिन्सको बुलाकानको मालोलोस सिटीस्थित बाराङ्गाय क्याट्मोन क्षेत्रबाट पक्राउ गरिएको फिलिपिन्स न्यूज एजेन्सीले जनाएको छ । हाल उनी अध्यागमन ब्यूरोको हिरासतमा छन् ।

उनलाई नेपाल डिपोर्ट गर्ने प्रक्रिया अगाडि बढाइएको ब्यूरोले जनाएको छ । पाठकलाई काठमाडौँ जिल्ला अदालतले १ डिसेम्बर २०२५ मा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस्तै इन्टरपोलले पनि डिसेम्बर १२ मा जबरजस्ती असुली र आपराधिक सञ्जालसम्बन्धी आरोपमा पाठकविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो ।

ब्यूरोको अनुसन्धानले पाठक विदेशमा गम्भीर सुरक्षा–सम्बन्धी गतिविधिहरूसँग संलग्न रहेको, फरार कैदीलाई आत्मसमर्पण नगर्न उक्साएको तथा आर्थिक र हतियार सहयोगको संकेत गरेको लगायत तथ्यहरू पनि देखाएको जनाएको छ। उनलाई एक उच्चपदस्थ विदेशी सरकारी अधिकारीको हत्या गर्ने षड्यन्त्रसँग समेत जोडिएको उल्लेख गरिएको छ ।

पाठकले अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलगायतका उच्च अधिकारीको हत्या गर्ने धम्की दिएका थिए । पाठक १८ अगस्ट २०२५ मा फिलिपिन्स प्रवेश गरेका थिए र उनलाई १८ डिसेम्बरसम्म बसाइको अनुमति दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *