विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी अघि बढ्न खोजे त्यसबाट निम्तिने दुर्घटनाको जिम्मेवार नेतृत्व हुन्छ

-गुरुराज घिमिरे

कुनै पनि लोकतान्त्रिक संस्थाले आफूलाई आचरण र व्यवहारले सही प्रमाणित गर्नुपर्छ । सिद्धान्त धारण गरेर मात्र पुग्दैन, चरित्र ग्रहण पनि गर्नुपर्छ । नेपाली कांग्रेस विधिको शासनका लागि आठ दशक संघर्ष गरेको पुरानो लोकतान्त्रिक पार्टी हो । यस दलको राजनीतिक शाख, प्रतिष्ठा र जनाधार अरु दलको भन्दा उच्च एवं व्यापक छ । यो अरुदल जस्तै औसत दल होइन भन्ने यथार्थको हेक्का पार्टी नेतृत्वले राख्न सक्नुपर्छ।

यता आएर यस दलभित्र विधिविहीनता र बेथितिले चरम रुप लिएको छ । यसको उदाहरण विशेष महाधिवेशनका मागकर्ता पार्टी सदस्यहरू माथि गरिएको वेवास्ता, चरम दुव्र्यवहार र पार्टी विधानको खुला उपहास तथा उल्लंघन हो । महाधिवेशनको कागजी तालिका न्यूनतम रुपमा लागू समेत नगर्ने र स्वेच्छाचारी रुपमा बदल्दा वा समय सार्दा समेत पार्टी सदस्यहरुलाई सामान्य रुपमा अग्रिम सूचनासम्म नदिने प्रवृत्ति सर्वाधिक अलोकतान्त्रिक मात्र होइन, तानाशाहीपूर्ण समेत छ,यो भत्र्सनायोग्य छ।

नेपाली कांग्रेसले ७५ वर्षअघि हुकुमी शासनको अन्त्य गरेको थियो ।अहिले कांग्रेस भित्रै हुकुमी शासन झल्काउने अभ्यास चलिरहेको छ । नेता सरह वा त्यसभन्दा बढी योगदान गरेका पार्टी सदस्यहरुलाई रैती, पार्टीलाई निजी जमिनदारी र घरेलु मामिला ठान्ने प्रवृत्ति सर्वथा निन्दनीय छ । विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी पार्टी नेतृत्व अघि बढ्न सक्तैन । जबरजस्ती गरे भविष्यमा उत्पन्न हुनसक्ने राजनीतिक दुर्घटनाका लागि नेतृत्व स्वयं जिम्मेवार हुनेछ।

म मेरा प्रातः स्मरणीय पितृहरु र लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने ज्ञात अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै वर्तमान चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा पार्टीलाई एकढिक्का बनाउँदै अघि बढ्न विशेष महाधिवेशनको मागलाई सकारात्मक रुपमा सम्बोधन गरेर मात्र अघि बढ्न बिनम्रतापूर्वक आग्रह गर्दछु।
य शाष्त्रविधिमुत्सृज्य वर्तते कामकारतः
नस सिद्दिमवाप्नोति न सुखं न परामगतिम्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *