भरतपुर (चितवन) । सरोकारवालाहरूले भरतपुर महानगरले सङ्घीयताको मर्मअनुरुप विकासको गरेको धारणा राखेका छन् । आज यहाँ सुनौलो नेपालले आयोजना गरेको ‘भरतपुरको विकास मोडल’ विषयक समूहगत छलफलका क्रममा सहभागीले भरतपुरले गरेको विकास अन्य स्थानीय तहका लागि उदाहरणीय भएको उल्लेख गर्दै सङ्घीयताको मर्मअनुरुप भएकाले विकास तीव्रगतिमा भएको बताएका हुन् ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सबैको समन्वय, सहकार्य र सन्तुलित भूमिकाका कारण छोटो समयमा भरतपुरको विकास सम्भव भएको बताइन् । उनले विज्ञहरूको सल्लाह, सबैको अपनत्व र आफूले सन्तुलित भूमिका निर्वाह गरेकै कारण भरतपुर दु्र्रतगतिमा विकासको गतिमा अघि बढ्न सकेको उल्लेख गरिन् ।
“भरतपुरको विकास निर्माण विषयमा राजनीतिक आग्रह र पूर्वाग्रह राखिएन, म दाबीका साथ ९५ प्रतिशत जनता विकास निर्माणका विषयमा खुसी हुनुहुन्छ”, उनले भनिन् ।
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि विसं २०७४ मा आफू भरतपुर महानगरपालिकाको प्रमुख भएर आउँदै गर्दाको अवस्था र आजको अवस्थामा विकास निर्माणले ठूलो फड्को मारेको उनको भनाइ थियो । तत्कालीन समयमा आफू यहाँको भूगोल, यहाँका जनताको मनोविज्ञान, आवश्यकता, योजना, माग र अपेक्षाबारे कम जानकार भए पनि त्यसपछि दिनमा भने लगनशीलता र इमान्दारिताका साथ काम गरेको उल्लेख गरिन् । सुरुआती दिनमा योजना निर्माणदेखि बजेट व्यवस्थापनसम्मका लागि चुनौतीपूर्ण अवस्थाबाट आज समृद्ध भरतपर बनाउनमा सबैको साथ र सहयोग रहेको उनको भनाइ थियो ।
“विकासको पहिलो आधार ‘कनेक्टिभिटी’ हो, हामीले सडक पूर्वाधारलाई प्राथमिकता दियौँ, सडक निर्माण भएपछि नजिकै घर हुनेका लागि पढ्न र रोजगारीका लागि स्थानीयलाई डेरा खोज्नुपर्ने बाध्यता हट्यो, स्वास्थ्य, शिक्षा र सामाजिक न्यायका क्षेत्रमा पनि उल्लेख्य प्रगति गर्न सक्यौँ ।”
त्यस अवसरमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ भरतपुर महानगरका घरघरमा समृद्धि पुगेको धारणा राखे । “विकास निर्माणमा यातायात, ऊर्जा र सञ्चारलाई प्राथमिकतामा राखिन्छ, यति पूर्वाधार भयो भने निजी क्षेत्रले काम गर्न पाउँछ, यो ढाँचामा भरतपुर महानगरले उल्लेख्य काम गरेको छ”, उनले भने, “भरतपुरको विकास मोडल अरुका लागि उदाहरणीय बनेको छ ।”
पूर्वउपाध्यक्ष डा श्रेष्ठले भरतपुरले अहिलेसम्म सहज पहुँच स्थापना गरेको र अबका लागि ‘स्पिड’ र ‘स्मुथ’ विकासमा जोड दिएको बताए । पहिले कुनै ठाउँ पुग्न घण्टौँ लाग्ने समयमा अहिले छोटो समयमा पुग्ने अवस्था बनेको छ, यसले समयमात्रै बचाउँदैन, खर्च र उत्पादकत्व दुवैमा फाइदा गर्ने उनको भनाइ थियो ।
उनले भरतपुरले विकास निर्माणका लागि आधारभूत पूर्वाधार निर्माण गरेकाले अबको बोटो यो औद्योगिक र व्यापारिक राजधानी बन्न सक्ने धारणा राखे । भरतपुरले विकास निर्माणमात्र नभई स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि उल्लेखनीय सफलता हासिल गरेको उनको भनाइ थियो । साथै सञ्चार तथा सूचना प्रविधिमा पनि ठूलो उपलब्धि हासिल गरेको उनले बताए ।
पूर्वउपाध्यक्ष डा श्रेष्ठले भरतपुरले विकास निर्माणमात्रै नगरी समानुपातिक विकासमा जोड दिएको बताए । “हामीले सुशासनमार्फत सामाजिक न्यायसहितको समृद्धिमा जानुपर्छ भन्छौँ, यसले धनी र गरिबलाई सँगसँगै लैजान्छ, यस अर्थमा भरतपुर महानगरले सफलता हासिल गरेको छ”, उनले भने । उदाहरणका लागि किसानलाई दूधमा प्रतिलिटर चार रुपैयाँ अनुदान दिनु पनि हो । यो भनेको धनीबाट उठाएको करलाई पुनः जनतामै वितरण गर्ने प्रणाली पनि हो ।
साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भरतपुर महानगरपालिको विकास संविधान र सङ्घीयताको मर्मअनुरुप भएको बताए । उनले भरतपुरको विकास समन्वय र सहकार्यमा आधारित भएको उल्लेख गरे ।
भरतपुर महानगरले आजका दिनमा जेजति विकास गरेको छ, त्यो सहकार्य, सहअस्तित्व र समन्वयमा आधारित छ । यहाँ कतिपय आयोजनाहरू केन्द्र सरकारका छन्, जसमा महानगरले ठूलो भूमिका निर्वाह गरेको छ । जुन अधिकांंश पालिकामा सम्भव नहुने उनको भनाइ छ ।
“विसं २०३८ मा चौबिसकोठीदेखि रामपुर क्याम्पससम्म मात्र सडक कालोपत्र थियो, त्यहाँबाट रामपुर बजारसम्म थप दुई किलोमिटर कालोपत्र हुनका लागि २०५२ साल कुर्नुपर्यो । तर अहिले घरघरमा कालोपत्र सडक पुगेको अवस्था छ, यो मुलुक सङ्घीयतामा गइसकेपछि सम्भव भएको हो”, सचिव शर्माले भने । छ लेनको सडक, चक्रपथ, नारायणी तटबन्ध र बाइपास केन्द्र सरकारले भरतपुर महानगरसँगको समन्वयमा गरेको उल्लेख गर्दै त्यसमा महानगरले ‘भ्यालु एड’ गरेको बताए ।
भरतपुर अन्य स्थानीय तहका लागि विकासको उदाहरण भएको समेत उनको भनाइ थियो । सडक पूर्वाधारमात्र नभई, शिक्षा, स्वास्थ्य तथा सामाजिक ढङ्गले पनि सहरीकरणको आधार भरतपुरले दिएको उनले उल्लेख गरे ।
उनले अब भरतपुरको योजनाबद्ध विकासको खाँचो भएको उल्लेख गर्दै उनले अब जग्गाको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए । अहिले चितवनलाई जग्गाको समस्या छैन तर भविष्यमा हुनसक्छ, त्यसैले आजैदेखि योजना बनाएर काम सुरु गर्नुपर्छ ।
