विशेष महाधिवेशन पुसमै हुन्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन हुने बताएका छन् । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख २८–३१ मा महाधिवेशन गर्ने प्रस्ताव बहुमतले पारित गरेपनि विशेष महाधिवेशनको कुरा नटुंगिएको बताएका छन् ।

उनले विधानको धारा १७(२) अनुसार नै पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने बताए । विधानले अब विशेष महाधिवेशन गर्नुको विकल्प नदिएको भन्दै महामन्त्री थापाले केन्द्रको जिम्मेवार नेताहरूले विधानको पालना नगरे आफूहरूले टुलुटुलु हेरेर नबस्ने बताए ।

उनले कार्यसम्पादन समितिको बैठकमा आफूहरूको फरक मत रहेको बताए। उनले भने, ‘हामीले आज फरक मत राखेका छौँ। पार्टीका कार्यवाहक सभापतिसहित जिम्मेवार नेताले विधानको पालना गर्नुपर्छ। विधानको उल्लङ्घन गर्न छुट कसैलाई छैन। हामी फरक मत राख्यौँ भनेर घरमा गएर सुत्दैनौँ।’

उनले केन्द्रीय समितिकै बैठक राखेर निर्णय नभए आफूले विशेष महाधिवेशन बोलाउने बताए । उनले पुसको मसान्तमा काठमाडौंमा विशेष महाधिवेशनमा आउने तयारी गर्न पनि आग्रह गरे ।

केन्द्रीय कार्यसमितिभन्दा विधान ठूलो भएको भन्दै उनले विधानको कार्यान्वयन गर्ने जिम्मेवारी केन्द्रीय कार्यसमितिको भएको बताए । महामन्त्री थापा र विश्वप्रकाश शर्माले बिहीबार नियमित महाधिवेशन स्थगित भएको भन्दै विशेष महाधिवेशन पुस २७ देखि गर्ने घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *