-ऋषि कट्टेल ।
चुनाव हुने नहुने अझै यकिन छैन । भैहाले पनि फागुन २१ मा हिमाली जिल्लाहरुमा सो मितिमा चुनाव हुँदैन । यसबारे निर्वाचन आयोग वा सरकारको मौनताले भित्र केही खिचडी पाक्दैछ भन्ने प्रष्ट हुन्छ । निर्वाचनमा भागलिने भनेका दलहरुको आन्तरिक र अन्तरविरोध झनै बढ्दो छ ।भाद्र २४ को घटनाले नयाँ र पुराना दलहरुबीचको अन्तरविरोधमात्र बढाएन दलहरु भित्रको अन्तरविरोध पनि सतहमा ल्यायो । ती दलहरुका नेतृत्वसँग असहमत पक्षले २४ को घटनालाई नेतृत्व विस्थापित गर्ने अवसरको रुपमा लियो । फलस्वरुप कांग्रेसका गगन थापाहरु विशेष महाधिवेशनको बाटोमा लागे । एमालेमा नेतृत्व परिवर्तनको निकै जोडदार आवाज उठ्यो र एकववर्ष अगाडि नै महाधिवेशन गर्न पुग्यो । माओवादी केन्द्र, समाजवादीको नेतृत्वले कथित एकताको नाममा आफ्नो दलीय हैसियत र पहिचान समाप्त गर्न पुगे । नयाँको नामले परिचित रास्वपा अस्तित्व रक्षाको लागि नयाँ झुण्डहरु बटुल्दैमा गन्तव्यविहीन बन्यो । यसरी संसदवादी दलहरु अन्तरविरोध, अनिश्चयता र अस्तित्व रक्षाको चरणवाट गुज्रिरहेका छन् ।
कांग्रेस, एमालेका गगन योगेशहरुले के बुझेनन् भने २४ को घटना शेरहादुर ओलीको विरुद्ध मात्र लक्षित थिएन । सिंगो कांग्रेस र एमालेलाई विस्थापित गर्ने षड्यन्त्र थियो । त्यसैगरी माओवादी केन्द्र समाजवादीलाई आफूलाई सत्ताच्यूत गराएको झोक फेर्न त मजा आयो तर यसभित्र उनीहरुको अस्तित्वनै समाप्तगर्ने योजना थियो भन्ने उनीहरुले थाहै पाएनन् वा मतियार बने । आज उनीहरुमा अब पश्चाताप भन्दा बाँकी केही छैन ।
२४को घटना नेपाललाई निकास विहीन द्वन्द्वमा फसाएर आफ्नो रोटी सेक्न चाहने र देशलाई नियन्त्रित अस्थिरताको बाटोमा धकेल्ने शक्ति केन्द्रहरुको प्रायोजित योजना थियो भन्ने कुरा संसदवादीहरु, खासगरी पुराना दलहरुले जबसम्म आत्मसाथ गर्ने छैनन् तबसम्म उनीहरुको अन्तरविरोध हलपनि हुनेछैन र अस्तित्वपनि बाँकी हुने छैन ।
