पुस २७ देखि २९ गतेसम्म कांग्रेसको विशेष महाधिवेशन हुने, भृकृटीमण्डपमा ‘हल बुक’

काठमाडौँ । संस्थापन पक्ष नियमित महाधिवेशन गर्न तयार नभएपछि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पुस २७–२९ गते विशेष महाधिवेशन गर्ने निर्णयमा पुगेका छन् ।

विशेष महाधिवेशन पक्षधरसँग दुई दिनको छलफलपछि उनीहरु विशेष महाधिवेशन गर्ने निर्णयमा पुगेका हुन् । विशेष महाधिवेशनका लागि भृकृटीमण्डपको हलसमेत बुक गरिएको नेता अजयबाबु शिवाकोटीले जानकारी दिए । यस विषयमा विशेष महाधिवेशन पक्षधरले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरेका छन् । पत्रकार सम्मेलनमार्फत उनीहरुले  विशेष महाधिवेशन बोलाउन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आग्रह गर्ने र नबोलाइए महामन्त्रीहरूले बोलाउने तयारी भएको छ ।

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर असोज २८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका थिए । तर केन्द्रीय समिति बैठकले नियमित महाधिवेशन गर्ने भनेर तालिका सार्वजनिक गरेपनि स्थगित भएको घोषणा नगरी कुनै कार्यक्रम हुन सकेको छैन । त्यसपछि विशेष महाधिवेशन पक्ष जुर्मुराएको हो ।

यसअघि महामन्त्री थापाले बुधबार मेलमिलाप दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा पनि अब विशेष महाधिवेशन अनिवार्य बनेको बताएका थिए ।

तर सभापति शेरबहादुर देउवाले भने विशेष महाधिवेशन कुनै हालतमा नहुने बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *