सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय विजय साहको मृत्यु भएको घटना छानबिन गर्न पाँच बुँदे सहमति भएको छ ।
बुधबार राति करिब १ बजे सशस्त्र प्रहरीले चलाएको गोली लागेर भारतबाट सिटी सफारीमा सामान लिएर आउँदै गरेका साहको मृत्यु भएको थियो ।
गोली प्रहारबाट साहको मृत्यु भएपछि बिहीबार उत्पन्न तनाव साम्य पार्न जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला बीचको बैठकमा घटनाबारे सत्यतथ्य छानबिन गर्ने र पीडित परिवारलाई न्याय दिलाउने विषयमा पाँच बुँदे सहमति भएको हो ।
छानबिन समितिमा नेपाल प्रहरीको कोशी प्रदेश कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि रहनेछन्।
समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्ने सहमति भएको छ। छानबिन प्रतिवेदन प्राप्त भएपछि सुरक्षा अधिकारीको लापरवाहीका कारण मृत्यु भएको ठहर भएमा प्रचलित नियमानुसार राहत तथा क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिने सहमति भएको छ ।
त्यस्तै मृतक साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहल गर्ने र सहजीकरण गर्ने सहमति गरिएको छ।

