क्रास । नयाँ वर्षको पूर्वसन्ध्यामा स्विस स्की रिसोर्ट सहर क्रान्स मोन्टानामा भीडभाड भएको बारमा आगलागी हुँदा ४० जनाको मृत्यु र घाइते भएका छन् ।
क्षेत्रीय दैनिक समाचारपत्रका अनुसार मृत्युको सङ्ख्या लगभग ४० हुनसक्ने अनुमान गरिएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । स्विस मिडियाले प्रकाशित गरेको तस्बिरमा आगो लागेको भवन र मानिसहरू चिच्याउँदै भागिरहेको दृश्य देखाइएको छ ।
प्रहरी प्रवक्ता गेटान लाथिओनका अनुसार, बिहान १ः३० बजे (००ः३० जिएमटी) ‘ले कन्स्टेलेसन’ नामक बारमा विस्फोट र आगलागी सुरु भएको थियो । भवनमा नयाँ वर्षको उत्सव मनाउन १०० भन्दा बढी मानिस भेला भएका थिए । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक र उद्धारकर्मीहरूको ठूलो टोली तुरुन्तै पुगेको र धेरै पीडितलाई उद्धार गरिएको जनाइएको छ ।
प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक रिपोर्ट अनुसार कन्सर्टका क्रममा आतशबाजी प्रयोग गर्दा आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।
घटनास्थलमा एम्बुलेन्सहरूको ठूलो भीड देखिएको थियो र अधिकारीहरूले प्रभावित परिवारको सहयोगका लागि विशेष हेल्पलाइन तथा स्वागत केन्द्र स्थापना गरेका छन् ।
