काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका केही उम्मेदवारलाई आफूसँग जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएको खबरप्रति आपत्ति जनाएका छन् ।
बुधबार सामाजिक संजालमार्फत मन्त्री घिसिङ यस्ता असत्य, भ्रामक र नियोजित टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । उनले भनेका छन्, ‘समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टीमबाट सिफारिस भएका व्यक्ति हुन्। त्यसैगरी, समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु । समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा होइन, पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको हो ।’
उनले जीवनमा प्रवेश गरेदेखि नै आफू नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको छु । त्यही इमान्दार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता नियोजित हल्ला र आरोपहरू दुःखद छन् । राजनीतिमा असहमति हुन सक्छ, तर झूट र भ्रम फैलाएर कसैको बदनाम गराउने प्रयास आपत्तिजनक छ। साथै, बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता समेत व्यक्त गर्दछु। म आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ छु । त्यसैले यस्ता भ्रामक समाचार र टिकाटिप्पणीको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ।’
