राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकता भएको छ ।

बुधबार कार्यक्रम गरी पार्टी एकताको घोषणा गरिएको हो । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकीकरण भएसँगै राजावादी शक्तिहरू एकीकृत भएका हुन् ।

यसअघि पुस ९ गते दुवै नेताले एकताको समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सहमतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट पारित विधान पार्टीको विधान हुने, एकीकरण पश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह (हलो) र झण्डा नै कायम उल्लेख छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीको केन्द्रीय अध्यक्ष हुने, राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट निर्वाचित भएका तर हाल राप्रपा नेपालमा रहेका केन्द्रीय कार्य समितिका सदस्यहरु एकीकृत पार्टीमा तात्कालिन महाधिवेशन हुँदा कायम रहेको पदमा रहने, सहमतिको आधारमा एकीकृत पार्टीमा राप्रपा नेपालको तर्फबाट पदाधिकारी र सदस्यहरु केन्द्रीय कार्यसमितिमा रहने उल्लेख छ ।

२०७८ मंसिरमा राप्रपाको सातौं महाधिवेशनमा अध्यक्ष पदमा कमल थापा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । त्यसपछि थापाले राप्रपा परित्याग गरी राप्रपा नेपाल पार्टी खोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *