समानुपातिक प्रतिनिधित्व प्रणालीलाई दलहरूले सांसद पद बिक्री केन्द्र बनाएः रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षा बमले समानुपातिक सूचीप्रति असन्तुष्टि जनाएकी छन् । मंगलबार सामाजिक संजालमार्फत बलमे दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीप्रति असन्तुष्टि जनाएकी हुन् ।

उनले समानुपातिक प्रतिनिधित्व प्रणालीलाई आज दलहरूले सांसद पद बिक्री केन्द्र बनाएको आरोप लगाएकी छन् ।

उनले भनेकी छन्, ‘सदियौँदेखि पछि पारिएका समुदाय, पछाडि पारिएका ठाउँ र उनीहरूको आवाजलाई सदनमा प्रतिनिधित्व गराउने उद्देश्यले नेपालको संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको हो। निश्चित वर्गको हालीमुहाली तोड्न, सदियौँदेखिको असमान शक्ति वितरणका कारण पछाडि पारिएका समुदायहरूको उत्थान गर्न यो प्रणाली लागू गरिएको थियो । दुःखद कुरा चैं, हिजो हजारौँको बलिदानबाट प्राप्त भएको यही समानुपातिक प्रतिनिधित्व प्रणालीलाई आज दलहरूले सांसद पद बिक्री केन्द्र बनाएका छन्। आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाएका छन्। र यतिखेर दलहरूको समानुपातिक सूची देखेर मन खिन्न भयो। …. र यसैबीच, मेरो सुदूर अझै पनि सुदूर नै छ। त्यहाँका मानिस, त्यहाँका समुदाय र वर्षौँदेखि राजधानीबाट अपहेलित एउटा भूगोल पनि यो देशको मानचित्रमा पर्छ भन्ने कुरा सबैले बिर्सिएका छन्।’

नयाँ भनिएका र पुराना दलले समानुपातिक सूची बुझाउँदा नोतदारदेखि नेताका आफन्तलाई समेत समावेश गरेको भन्दै आलोचना भइरहेको छ ।

कांग्रेसले पूर्वराष्ट्रपति डा. रामबरण यादवका छोरादेखि राष्ट्रपति रामचन्द्र पौडेलकी छोरीलाईसमेत सिफारिस गरेको छ । त्यस्तै रास्वपाले चितवनबाट मात्रै १५ जनालाई सिफारिस गरेको छ । अन्य दलबाट पनि आफन्तहरु धेरै जना सिफारिसमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *