-नारायण गाउँले ।
संसदकै कार्यकाल पनि त दुई वर्ष बाँकी नै थियो नि ! किन विशेष चुनाव हुँदैछ भने संसदको गणितीय वैधता रहे पनि राजनीतिक वैधता सकिएको छ । त्यसैले त्यो भङ्ग भयो । यस्तो विशेष र विषम परिस्थितिमा कांग्रेस भन्ने दलले चाहिँ पुरानै नेतृत्व लिएर नयाँ चुनावमा जाने निर्णय पक्कै पनि राजनीतिक मूल्य र ईमानविपरीत देखिन्छ ।
जबकी विद्रोहलाई खारेज गर्दै आधिकारिक रूपले नै संसद पुनःस्थापनाको माग गरेको एमालेले समेत समयअगाडि नै महाधिवेशन गर्यो र नेतृत्वको परीक्षण गर्यो । दलमाथि, दलको नेतृत्व र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै देशभर त्यत्रो जनविद्रोह भएपछि एकपल्ट कांग्रेसले आफ्नो नेतृत्व र नीतिको पुनःपरीक्षण गर्नु जरूरी थियो । त्यो विशेष महाधिवेशनमापÞर्mत् केही हप्ताभित्रै हुनु जरूरी थियो । माग पनि भएको थियो ।
त्यो विद्रोहले यथास्थितिलाई भत्काउन चाहेको थियो । परम्परागत राजनीतिक कोर्षमा क्रमभङ्ग चाहेको थियो । यो त अल्पबुद्धि भएको कार्यकर्ताले समेत बुझेको हुनुपर्ने हो । त्यो स्तरको विद्रोह, क्षति र विष्फोट हुनुमा एमाले र कांग्रेस नेतृत्वप्रतिको आक्रोश र निराशा त सबैले बुझ्न सक्ने विषय नै थियो । गणितीय रूपले समेत सिद्धिइसकेको कांग्रेस नेतृत्वको वैधता अस्तिको आन्दोलनपछि राजनीतिक रूपले पनि सकिइसक्यो । देश नयाँ र फरक कोर्षमा हिँडिसक्यो । अब देउवाकै अनुहार पोस्टरमा टाँसेर ङिच्च भोट माग्दै गाउँगाउँसम्म जाने कांग्रेसी कार्यकर्तालाई जनताले के दिएर फर्काउलान् ?
आँखा अगाडि बिजुलीको गतिमा दौडिरहेका युवाहरू बलियो विकल्प बनेर उभिँदै छन् । एक्काइसौँ शताब्दीको रौँचिरा प्रतिष्पर्धा हुने युगमा समेत कांग्रेसले भने चार महिनासम्म महाधिवेशनको नाममा बैठक बोलाउँदै र सार्दैमात्रै गर्दै आएको छ । हुन्छ र हुन्न भन्नेबाहेक एउटा सिन्को भाँच्ने काम भएको देखिन्न । न वैचारिक बहस, न साङ्गठनिक गतिविधि ।
एमालेमात्रै होइन, नयाँ भनिएका दलले समेत कांग्रेसको नाम लिएर आलोचना गरेको सुनिन छोड्यो । या जिउँदो छैन, या सान्दर्भिकता सकियो भनेर त होला नि । धन्न होलसेलमा भए पनि ‘पुराना दल’ भन्छन् र ए, रैछ भन्ने हुन्छ । कांग्रेसका धेरै नेता यो तस्बिरका भ्यागुताजस्ता रहेछन् । महाधिवेशन भयो भने मुखमै आएको कीरो फुत्किन्छ कि भन्ने डर छ । जिब्रो तानेर बसेका छन् । समयले कति कुरा निल्दैछ भन्ने तिनलाई हेक्का छैन ।

