श्याम महर्जनकाे अध्यक्षतामा चाइनिज गाइड एशोसिएसनको नयाँ कार्यसमिति चयन

काठमाडौँ । श्याम महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै नेपाल चाइनिज गाइड एशोसिएसनकाे नवौँ वार्षिक साधारण सभा काठमाडैँमा सम्पन्न छ ।

आगामी कार्यकालका लागि निर्वाचित कार्यसमितिअनुसार प्रथम उपाध्यक्षमा राजीव शाक्य र द्वितीय उपाध्यक्षमा कृष्णकमल सैँजु निर्वाचित भएका छन् ।सचिव पदको जिम्मेवारी लक्ष्मी गिरीले पाएकी छन् भने उपसचिवमा अनुज हाडा चयन भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा बाबुकृष्ण महर्जन र सहकोषाध्यक्षमा नमराज लामिछाने निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरूमा कपिल श्रेष्ठ, अमुल्य बज्राचार्य, रबिन श्रेष्ठ, ब्रह्मदेव शाक्य, चनकेश्वरी कोजु, राजेन्द्र कोजु, शरोज शाही र सनोज शाक्य रहेका छन् ।

साधारण सभामा बोल्दै नवनिर्वाचित अध्यक्ष महर्जनले चिनियाँ पर्यटकहरूलाई गुणस्तरीय मार्गदर्शन सेवा प्रदान गर्दै गाइडहरूको हकहित, क्षमता अभिवृद्धि तथा व्यवसायिक मर्यादा कायम गर्न संघ सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसअघि नवौँ वार्षिक साधारण सभाको उद्घाटन ललितपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष अपुलाल अवाले र वरिष्ठ गाइड कुमारेन्द्र श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष अवालेले करिब १५ वर्षअघि चिनियाँ पर्यटकको संख्या बढ्दै जाने क्रममा चिनियाँ भाषा जान्ने गाइडहरुको उच्च माग भएकोले राम्रो अवसर भएपनि पछिल्ला वर्षहरुमा बेरोजगारी बढेको र चुनौती थपिको बताए ।

वरिष्ठ गाइड कुमारेन्द्र श्रेष्ठले गाइडहरुलाई राजदूतको मान्यता दिएपनि सडकको अवस्था, जंगल सफरी, डुङ्गा सयरलगायतका सहासिक गतिविधिमा सहभागी हुँदा गाइडले ठूलो जोखिम मोल्नुपरिरहेको उल्लेख गर्दै सम्पूर्ण टुरिष्ट गाइडकाे जीवन बीमा सुनिश्चित गर्न माग गरे ।

निवर्तमान अध्यक्ष निशान प्रधानले चिनियाँ भाषाका गाइडहरुले समयानुकूल आफूलाई अध्यावधिक गर्दै लैजानुपर्ने कुरामा जोड दिए ।

साधारण सभाले निवर्तमान काेषाध्यक्षकाे आर्थिक प्रतिवेदन र निवर्तमान सचिवकाे कार्यप्रगति प्रतिवेदन सर्वसम्मतिले परित गरेकाे थियाे ।

सन् २०१६ मा स्थापना भएको सो एशोसियसनमा एक सय बढी सदस्य छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *