बालेन-रवि समझदारीको संकेत

-जेपी गुप्ता

नेपालको पछिल्लो राजनीतिक इतिहास केवल दलहरूको असफलताले होइन, तिनलाई वैचारिक आवरण दिँदै आएका एक वर्गका बुद्धिजीवीहरूको दोहोरो चरित्रले पनि विकृत बनेको छ। जेनजी विद्रोह अघिको कालखण्ड यसैको ज्वलन्त उदाहरण हो । जेनजी विद्रोहभन्दा पहिले यही बौद्धिक वर्गले काँग्रेस–एमाले सत्ता गठबन्धनलाई खुलेर मन पराएन। केपी ओली नेतृत्वको सरकारलाई निरन्तर आलोचना गर्यो, नेपाली काँग्रेसलाई “गठबन्धन तोड” भन्ने उपदेश दियो। उनीहरूको भाष्यमा सत्ता अस्थिर थियो, गठबन्धन अप्राकृतिक थियो, र ‘सुधार’ अनिवार्य थियो। तर जब त्यो असन्तोष भयावह जेन्जी बिद्रोहका रूपमा विस्फोट भयो, तब यिनै बुद्धिजीवीहरूको स्वर अचानक बदलियो।

विद्रोहलाई ‘स्वाभाविक’ भन्दै परिणामलाई ‘विध्वंशक’ करार गरियो। तर यहाँ एउटा खतरनाक मौनता देखियो— जेनजीका राजनीतिक, सामाजिक र पुस्तागत मागहरूबारे बोल्ने साहस कसैले गरेन। सम्पूर्ण जिम्मेवारी ‘विदेशी षड्यन्त्र’ को थुप्रोमा हालियो। यो इमान्दार विश्लेषण होइन, बौद्धिक पलायन थियो।
यथार्थ के हो भने, यी बुद्धिजीवीहरू अदृश्य रूपमा पुरानै अवस्थाको पुनरावृत्ति चाहन्थे। काँग्रेस, एमाले र माओवादीकै सीमित घेराभित्र ‘चुनाव’ पछिको राजनीतिक ध्रुवीकरण होस्, सत्ता फेरि उही हातमा घुमिरहोस्— यही उनीहरूको अघोषित चाहना थियो । परिवर्तनको कुरा गर्ने, तर परिवर्तन आएपछि तर्सिने— यही हो यिनको वास्तविक अनुहार ।

आज अवस्था फेरि निर्णायक मोडमा छ। जब पुराना दलहरूलाई सीधै चुनौती दिने गरी बालेन साह र रवि लामिछाने बीच चुनावी समझदारीको संकेत देखियो, जब बालेन साहलाई सम्भावित भावी प्रधानमन्त्रीका रूपमा चर्चा गर्न थालियो— तब यही बौद्धिक वर्ग फेरि तरंगित भयो। अचानक विश्लेषण हरायो, तर्क कमजोर भयो, र फेरि पुरानै ‘विदेशी षडयन्त्र’ को भाष्य निकालियो।

प्रश्न सरल छः
यदि जनआधारित नयाँ राजनीतिक विकल्प देशी हुँदैन भने देशी के हो ? यदि युवाको असन्तोष षड्यन्त्र हो भने पुराना दलहरूको असफलता के हो ?

यी बुद्धिजीवीहरू वास्तवमा लोकतन्त्रको रक्षा गर्न डराइरहेका छैनन्, उनीहरू आफ्नै वैचारिक प्रभुत्व गुम्ने डरले पनि त्रसित छन् । किनकी नयाँ नेतृत्वले न उनीहरूको पुराना सिद्धान्तलाई बोक्छ, न उनीहरूको अनुमतिमा राजनीति गर्छ। त्यसैले बालेन ‘अराजक’ देखिन्छन्, रवि ‘खतरनाक’ ठहरिन्छन्, र जनता ‘भुलाइएका’ करार गरिन्छन् ।

यो प्रवृत्ति केवल कायरता होइन, बौद्धिक बेइमानी हो। जेनजी विद्रोहका बेला प्रश्न नगर्ने, तर नयाँ राजनीतिक विकल्प देख्दा देश अस्थिर हुने डर देखाउने— यो दोहोरो चरित्र अब नांगो भइसकेको छ । नेपाललाई आज विदेशी षड्यन्त्रभन्दा ठूलो खतरा यिनै स्वघोषित बुद्धिजीवीहरूको चयनात्मक चेतनाबाट छ। जबसम्म यो वर्ग आत्मआलोचनाको कठघरामा उभिँदैन, तबसम्म न बिद्रोह बुझिन्छ, न परिवर्तन स्वीकारिन्छ, न लोकतन्त्र बलियो हुन्छ । अब प्रश्न बुद्धिजीवीहरूलाई होइन, जनतालाई हो— पुरानै गल्तीलाई वैचारिक भाष्य बनाएर दोहोर्याउने कि, नयाँ जोखिमसहित नयाँ सम्भावनालाई अवसर दिने ? इतिहासले उत्तर खोजिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *