नाममात्रका कार्यवाहक !

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु देउवामाथि सांघातिक आक्रमण भयो । आक्रमणबाट घाइते भएका उनीहरुलाई सेनाको हेलिकप्टरबाट उद्धार गरी अस्पताल लगियो । दुई साताको उपचारपछि उनीहरु अस्पतालबाट डिस्चार्ज भए । अस्पतालबाट डिस्चार्ज भएपछि सभापति देउवाले पार्टीको केन्द्रीय समितिको बैठक बोलाए । असोज २८ गतेका लागि बैठक बोलाइयो । केन्द्रीय समिति बैठकमा सभापति देउवाले लिखित वक्तव्य पढ्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिए । बैठकमा उनले भने, ‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु । जिम्मेवारीअनुसार काम गर्नुहोला ।’ त्यसक्रममा देउवाले १५ औं महाधिवेशन तोकेको अवधिमै हुने बताए। उनले विशेष नभई नियमित महाधिवेशन नै हुने बताए । खड्कालाई कार्यवाहक तोकेर देउवा दम्पत्ति कात्तिक १० गते थप उपचारका लागि सिंगापुर गए ।
खड्कालाई कार्यवाहक दिएर सिंगापुर उडेका देउवा स्वदेश नफर्किउन्जेल पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति टुंगो लगाउन सकेन । देउवा दम्पत्ति उपचार गराई कात्तिक २८ गते स्वदेश फर्किए । देउवा सिंगापुरमा भएका बेला बसेको केन्द्रीय समिति बैठकमा अनेक गलफत्ती भए, तर महाधिवेशनको मिति तोकिएन ।

मंसिर १५ गते बसेको केन्द्रीय समिति बैठकले १५ औँ महाधिवेशन पुस २६,२७ र २८ गते गर्ने निर्णय गर्यो । महाधिवेशनको मिति आउन दुई साता मात्र बाँकी हुँदा पनि हुने नहुने अझै अनिश्चित भएको छ ।
खड्कालाई कार्यवाहक तोक्दा पार्टीका नेताहरुले उनको प्रशंसा गरेका थिए । तर उनी सिंगापुरमा रहँदै उनको निर्देशनमा महाधिवेशनको मिति तोक्न कार्यवाहक खड्का असमर्थ रहेको आवाज उठ्न थालिसकेको थियो । अहिले पनि पार्टीको बैठकमा देउवा जाँदैनन् । तर अन्य राजनीतिक गतिविधिमा भने देउवा सक्रियताका साथ भाग लिन थालेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको बैठकमा होस् वा प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठक, सबैमा देउवा नै जाने गरेका छन् । केही दिनअघि राष्ट्रपतिले प्रमुख तीन दलका शीर्ष नेतालाई बोलाउँदा देउवा नै सहभागी भएका थिए भने शनिबार प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेताहरूलाई छलफलमा बोलाइन्। छलफलमा नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीबाट अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र कांग्रेसबाट सभापति शेरबहादुर देउवा सहभागी भए । कार्यवाहक भनेको सबै कार्यभार सुम्पिएको हो । तर सबै कार्यभार दिइसकेका देउवा किन आफैं सक्रिय भए त ? देउवाको भूमिकाले खड्का निरिह देखिएका छन् ।

देउवा सक्रिय भएको देखेर महामन्त्री गगन थापा रुष्ट बनेका छन् । गत बुधबार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै थापाले सभापतिले नाममात्रको कार्यवाहक दिएर सबै शक्तिको अभ्यास गरेको बताए । उनले भने, ‘पार्टी सभापतिज्यूले कार्यवाहक दिनुभएको छ, तर नाम मात्रको । सभापतिज्यू बैठकमा आउनुभएको छैन तर बाँकी सबै शक्ति अभ्यास त्यहीँबाट भइरहेको छ ।’

महाधिवेशनको मिति आउन दुई साता बाँकी छ । तर अहिले पनि महाधिवेशन हुने नहुने टुंगो छैन । विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशन गर्नुपर्ने भन्दै फेरि स्मरणपत्र बुझाएका छन् । महामन्त्री थापाले त महाधिवेशन नहुने हो भने उम्मेदवार नै नहुने घोषणा गरिसकेका छन् । त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि उम्मेदवार नहुने घोषणा गरेका छन् । यस्तो अवस्थामा कांग्रेस कसरी बलियो होला ? दुई महामन्त्री नै उम्मेदवार नबनेको अवस्थामा कसरी कांग्रेस चुनावमा होमिएला ? यसको दोष कार्यवाहक खड्काको टाउकोमा जाला कि देउवाकोमा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *