काठमाडौँ । उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ । पार्टीको शनिबार बसेको केन्द्रीय समितिको बैठकले नाम, चुनाव चिह्न र पद सबै अरु पार्टीको हुने वा अरुको पार्टीमा विलय हुनेगरी एकता नगर्ने निर्णय गरेको केन्द्रीय सदस्य किरण विकले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहसँग पार्टी एकताबारे छलफल भइरहेको सन्दर्भमा आज बैठक बसी उक्त निर्णय गरिएको उनले बताए ।
पार्टीका संरक्षक एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ उपस्थित बैठकले वैकल्पिक र अग्रगामी सबै शक्ति मिलेर जानुपर्ने मान्यता राखे पनि कुनै पार्टीमा विलय हुन नदिने निर्णय गरेको सदस्य विकले बताए ।
केन्द्रीय समितिको बैठकले पार्टीको नाम, चुनाव चिह्न, सभापति र प्रधानमन्त्री आफ्नो पार्टीबाट हुनुपर्ने रास्वपाका सभापतिले राखेको प्रस्तावलाई अस्वीकार गर्दै आफ्नै पार्टीको नेतृत्वमा चुनावमा आउन वैकल्पिक र अग्रगामी सबै शक्तिलाई आह्वान गरेको छ ।
