सिंहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरु सिंहदरबारमा पुग्न खोज्नु सकारात्मक हो

-प्रदीप ज्ञवाली

विचार मिल्नेहरु एकै ठाउँ उभिनु राम्रो हो । (उसो त, विचार मिलेको हो कि स्वार्थ– समयले नै बताउला ।) त्यसमाथि, सिंहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरु पनि लोकतान्त्रिक प्रतिष्पर्धाबाट त्यही सिंहदरबारमा पुग्न खोज्नु सकारात्मक हो । तर यस्ता भेटघाटहरुलाई लिएर यस्तो तरङ्ग ल्याउन खोजिँदैछ– मानौँ, आजसम्म नेपाल नबनेकै अमुक व्यक्तिहरु नमिलेर हो । जस्तो कि दक्षिण भारतीय चलचित्रहरुमा देखिन्छ– कुनै नायक रङ्गमञ्चमा उत्रेर ढ्याक्क खुट्टा बजार्छ, तुफान सिर्जना हुन्छ, अनि सबै खलनायकहरु सोत्तर हुन्छन् । यो मिलनले यस्तै ‘तारणहार’ जन्माउँछ र देशले मुक्ति पाउँछ भन्ने भ्रान्ति फैलाउन खोजिँदैछ ।

तर यस्तो तिलस्मी तत्वको खोजीले मुलुकलाई कहीँ पनि पुर्याउँदैन । देश बनाउनमा व्यक्तिको भूमिका हुँदैन भन्ने होइन, तर देश बन्ने भनेको अन्ततोगत्वा विचार, संस्था, प्रणाली र सामूहिकताले हो । कस्तो शासन प्रणाली अपनाउने ? कस्तो आर्थिक नीति लिने ? बहुलता र विविधताले भरिएको समाजमा सामाजिक प्रबन्ध कस्तो हुने ? तीव्र रुपमा बदलिइरहेको भूराजनीतिक परिदृश्यमा राष्ट्रिय हितको संरक्षण कसरी गर्ने ? जलवायु परिवर्तन जस्ता भयावह चुनौतीको सामना कसरी गर्ने ? संविधानका कुन विषय संरक्षण गर्ने र के परिमार्जन गर्ने ? यावत् प्रश्नमा कुनै विकल्प छैन ।

छ त केबल नकारात्मकता, निषेध र घृणा । कतिपय मिडियामा देखापरेको ‘युफोरिया’ हेर्दा दुई दशक अगाडिका घटनाहरू याद आए, जतिबेला ‘जनसरकार’ घोषणाको समाचार कभर गर्न हेलिकप्टर चार्टर गरिन्थे । ओहो, हिंसाको त्यो महिमागान ! नयाँ दिनका ती अभ्यर्थना ! र नयाँ नेपालका ती सपना ! आज त्यो ‘मिडिया हाइप’ निर्मित बिम्ब कपुरको बास्ना झैँ विलोप भइसकेको छ । घोडा पानीदार हो कि होइन भन्ने टुङ्गो त आखिर लामो दौडले नै तय गर्ने हो । साथीहरूले समाजलाई ‘इमोशनल’ होइन, ‘र्याशनल’ बनाउन सघाए हुने हो । स्वप्न भङ्गताको क्षण साह्रै पीडादायी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *