राँझा (बाँके) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिमा धैर्य र समर्पण नभए दुर्घटना निम्तिने बताएका छन् ।
नेपालगञ्जमा आजदेखि सुरु भएको राष्ट्रिय वाणिज्य बैंक कर्मचारी सङ्घ नेपालको १२औँ महाधिवेशनको उद्घाटन समारोहमा महासचिव पोखरेलले राजनीतिमा ‘तातै खाऔँ, जल्दै मरौँ’ जस्तो हतार गरे सफलता हासिल नहुने उल्लेख गरे ।
“राजनीतिमा धैर्य र समर्पण चाहिन्छ, हतार गरे दुर्घटना हुन्छ”, उनले भने, “युवापुस्ताले भावनामा बहकिएर होइन, परिस्थितिलाई तथ्य र सत्यका आधारमा विश्लेषण गरेरमात्र समाज परिवर्तनको यात्रामा लाग्नुपर्छ ।” विषयगत ज्ञानसहितको नयाँपुस्ताले राष्ट्रलाई सही दिशा प्रदान गर्न सक्ने भएकाले सचेत युवाहरू राजनीतिमा अगाडि आउनुपर्नेमा उनले जोड दिए ।
नेकपा (एमाले) युवाका नाममा राजनीति गर्ने पार्टी नभई युवालाई राजनीतिमा जोड्ने पार्टी भएको दाबी गर्दै महासचिव पोखरेलले ११औँ महाधिवेशनबाट एकतिहाइ नयाँ युवा सदस्य निर्वाचित भएको उल्लेख गरे । तीन पुस्ता संयोजनको मान्यतालाई एमालेले व्यवहारमा लागू गरेको उल्लेख गर्दै महासचिव पोखरेलले भने, “राष्ट्र निर्माण गर्ने कुरामा निरास हुनुपर्दैन, युवाको भविष्यलाई एमालेले सुरक्षित गरेको छ ।”
उनले राष्ट्रिय वाणिज्य बैंकमा आबद्ध कर्मचारी नेताहरूलाई अहिले सेवा गरी भविष्यमा उद्यमशीलतामा जोडिएर राष्ट्र निर्माणमा योगदान गर्न आग्रह गरे । महाधिवेशनमा देशभरका आठ सय प्रतिनिधिको सहभागिता रहेको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
