– शरच्चन्द्र भण्डारी, काठमाडौँ । विश्व सन् २०२५ को अन्तिम सातामा छ । यो विश्व इतिहासमा निर्णायक वर्षका रूपमा स्मरणीय रहने छ । यो वर्षले विश्व राजनीतिमा शक्ति सन्तुलनको पुनर्संरचना, युद्ध र शान्तिको द्वन्द्व, आर्थिक अनिश्चितता, जलवायु सङ्कट, प्रविधिगत परिवर्तन र सामाजिक रूपान्तरणलाई एकैसाथ उजागर गरेको छ । भारत र चीनजस्ता एसियाली महाशक्तिदेखि अमेरिका, युरोप, मध्यपूर्व र अफ्रिकासम्मका घटनाहरूले विश्वलाई कुनै न कुनै रूपमा प्रभावित पारे ।
यी परिवर्तनहरूको केन्द्रविन्दु विशेष रूपमा भारत र चीनको उदय, प्रतिस्पर्धा र रणनीतिक चालहरू नै देखियो । सन् २०२५ ले २१औँ शताब्दीको विश्व राजनीति अब केवल पश्चिमा शक्तिहरूको प्रभावमा सीमित नरहेको स्पष्ट गर्यो । भारत र चीन दुवैले आफ्नो आर्थिक क्षमता, जनसाङ्ख्यिकीय शक्ति, प्रविधि र कूटनीतिक पहुँचमार्फत विश्व व्यवस्थामा निर्णायक भूमिका निर्वाह गर्न थालेका छन् । यही कारणले २०२५ लाई भारत–चीन केन्द्रित विश्व रूपान्तरणको वर्षका रूपमा पनि बुझ्न सकिन्छ ।
भारतका लागि २०२५ आत्मविश्वास र आकाङ्क्षाको वर्ष रह्यो । सन् २०२४ को निर्वाचनपछि स्थिर सरकार बनेसँगै भारतले आर्थिक विस्तार, पूर्वाधार विकास र रक्षा आत्मनिर्भरतालाई तीव्र गतिमा अघि बढायो । उत्पादनमा आधारित अर्थतन्त्र, सेमिकन्डक्टर उद्योग, हरित ऊर्जा र डिजिटल प्रविधिमा भएको लगानीले भारतलाई दीर्घकालीन विश्व शक्ति बन्ने दिशामा उन्मुख गरायो । अन्तरिक्ष, रक्षा र प्रविधिमा भारतको बढ्दो उपस्थिति केवल आर्थिक उपलब्धि मात्र नभई रणनीतिक सन्देश पनि प्रवाह गर्न नयाँदिल्ली सफल रह्यो ।
विदेश नीतिमा भारतले आफूलाई विश्वव्यापी दक्षिणको प्रतिनिधि र सेतुका रूपमा प्रस्तुत गर्ने प्रयास गर्यो भने अमेरिका, जापान, अस्ट्रेलिया र युरोपसँगको सहकार्य सघन भयो । एसिया–प्रशान्त क्षेत्रमा शान्ति, सुव्यवस्था र स्थायित्व कायम गर्ने रक्षासम्बन्धी भारत, अमेरिका, जापान र अस्ट्रेलियाबीचको रणनीतिक साझेदारी क्वाडमार्फत यो क्षेत्रमा चीनको प्रभाव सन्तुलन गर्ने रणनीति अघि सारियो । यद्यपि, भारतले चीनसँगको प्रतिस्पर्धालाई पूर्ण टकरावमा रूपान्तरण हुन नदिने सावधानी पनि अपनायो । वास्तविक नियन्त्रण रेखामा सैन्य सतर्कता उच्च रह्यो, तर संवादका ढोका बन्द भएनन्, जसले एसियाको राजनीतिक स्थायित्व र शान्ति सुव्यवस्था कायम गर्ने दिशामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो । दुई देशबीचको द्वन्द्व मत्थर भयो ।
चीनका लागि सन् २०२५ आत्ममूल्याङ्कन र पुनर्संरचनाको वर्ष बन्यो । दशकौँको तीव्र आर्थिक वृद्धिपछि चीन सुस्त अर्थतन्त्र, रियल इस्टेट सङ्कट र युवामाझ बढ्दो बेरोजगारीजस्ता चुनौतीको सामना गरिरहेको थियो । यस्ता अवस्थाबीच चीनले घरेलु बजार सुदृढीकरण, प्रविधिमा आत्मनिर्भरता र राज्य–केन्द्रित विकास मोडेललाई थप बलियो बनायो । कृत्रिम बौद्धिकता, उच्च प्रविधिका सामग्री उत्पादन र सैन्य आधुनिकीकरणमा चीनको लगानी निरन्तर रह्यो जसले बेइजिङलाई विश्वका अग्रणी मुलुकको सूचीमा स्थापित गरायो ।
राजनीतिक रूपमा चिनियाँ कम्युनिस्ट पार्टीको नियन्त्रण अझ कडा देखियो । स्थायित्व र राष्ट्रिय एकताको नाममा निगरानी बढाइयो जसले सामाजिक असन्तोषलाई दबाउने काम गर्यो । ताइवान प्रश्न चीनको सबैभन्दा संवेदनशील रणनीतिक मुद्दा रह्यो । ताइवान वरिपरि सैन्य अभ्यास र कूटनीतिक दबाबले अमेरिका र उसका सहयोगीसँग सम्बन्धलाई तनावपूर्ण बनायो जसले सम्पूर्ण एसियाली क्षेत्रको सुरक्षा समीकरणमा असर पार्यो । जापान र चीनबीच ताइवानलाई लिएर निकै तनाव भयो ।
भारत र चीनबीचको सम्बन्ध सन् २०२५ मा प्रतिस्पर्धा र सावधानीपूर्ण संयमको मिश्रणको रूपमा रह्यो । आर्थिक रूपमा दुवै देश एकअर्कामा निर्भर भए पनि रणनीतिक अविश्वास कायमै रह्यो । दक्षिण एसिया, हिन्द–प्रशान्त क्षेत्र र विकासशील देशहरूमा प्रभाव विस्तार गर्ने होड तीव्र बन्यो । यही प्रतिस्पर्धाले नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफ्रिकी देशहरूलाई कूटनीतिक सन्तुलन अपनाउन बाध्य बनायो ।
सन् २०२५ मा दुवैले जलवायु सङ्कटका प्रत्यक्ष असर भोग्नुपर्यो । अनियमित मौसम, बाढी, खडेरी र चरम तापक्रमले करोडौँ नागरिकको जीवन प्रभावित भयो । यसले विकास र वातावरणबीचको द्वन्द्वलाई चर्काउनका साथै आपसी साझेदारी अपरिहार्य भएको अझ स्पष्ट बनायो । विश्वका सबैभन्दा धेरै जनसङ्ख्या भएका भारत र चीनले जलवायु सङ्कट समाधानमा निर्वाह गर्ने सम्भावित भूमिकाले भविष्य निर्धारण गर्ने सङ्केत पनि गरायो ।
प्रविधिको क्षेत्रमा प्रतिस्पर्धा झनै तीव्र भयो । कृत्रिम बौद्धिकता, डिजिटल निगरानी, डेटा नियन्त्रण र साइबर सुरक्षामा दुवैले आ–आफ्नो मोडेल अघि सारे । भारतले लोकतान्त्रिक प्रणालीभित्र प्रविधि विस्तार गर्ने प्रयासलाई निरन्तरता दियो भने चीनले राज्य–केन्द्रित प्रविधि शासनलाई बलियो बनायो । यी फरक मोडेलहरूको प्रतिस्पर्धाले विश्व प्रविधि राजनीतिलाई नयाँ दिशा देखायो ।
सन् २०२५ विश्व इतिहासमा केवल घटनाहरूको सङ्कलन मात्र रहेन, यो विश्व व्यवस्थाको गहिरो पुनर्संरचनाको वर्ष बन्यो । राजनीति, अर्थतन्त्र, प्रविधि, युद्ध, जलवायु र संस्कृतिका तहहरूमा भइरहेको परिवर्तनहरूले मानव सभ्यतालाई गम्भीर आत्ममन्थनतर्फ धकेले । एकातिर अभूतपूर्व प्रगति र नवप्रवर्तनको दिशा देखियो भने अर्कोतिर अस्थिरता, द्वन्द्व र अनिश्चितताले भविष्य झन् जटिल बनायो ।
सन् २०२४ को अमेरिकी निर्वाचनपछि डोनाल्ड ट्रम्पको राष्ट्रपतिको रूपमा पुनरागमनले सन् २०२५ को प्रारम्भमै विश्व राजनीतिलाई झस्काइदियो । उनका नीतिहरूले अमेरिकी विदेश नीति एकपक्षीयता, कडा राष्ट्रवाद र लेनदेनमुखी शैलीतर्फ फर्केको सङ्केत दियो । आक्रामक भन्सार तथा व्यापार नीतिले विश्व अर्थतन्त्रमा गहिरो प्रभाव पार्यो । अमेरिका–चीन व्यापार तनाव पुनः चर्कियो, युरोप, मेक्सिको र एसियाली अर्थतन्त्रहरू पनि असरबाट अछुतो रहेनन् ।
मध्यपूर्वमा इजरायल–हमास युद्धविरामले केही समयका लागि राहत दियो । युरोपमा युक्रेन युद्धको छायाँ सन् २०२५ भरि फैलिरह्यो, जसले विश्व शक्ति राजनीति, ऊर्जा सुरक्षा र सैन्य गठबन्धनको भविष्य प्रभावित गर्यो । विश्व शासनका बहुपक्षीय मञ्चहरूमा पनि २०२५ परिवर्तनको वर्ष बन्यो । जोहानेसबर्गमा सम्पन्न जी–२० शिखर सम्मेलनले पहिलोपटक अफ्रिकाको महत्त्व पुष्टि गर्यो । चीन र अमेरिकी राष्ट्रपतिबीच कोरियामा भएको भेटवार्ता पछि चिसिएको अमेरिका–चीन सम्बन्ध पुनः हार्दिकतातर्फ फर्कियो ।
सांस्कृतिक रूपमा पनि वर्ष महत्त्वपूर्ण रह्यो । पोप फ्रान्सिसको निधनले विश्वभर शोक र चिन्तनको लहर फैलायो भने कला, सङ्गीत, खेलकुद, सिनेमा र साहित्यका प्रतिष्ठित व्यक्तित्वहरूको निधनले युगको अन्त्य र सांस्कृतिक निरन्तरतालाई उजागर गर्यो । अभिनेता धर्मेन्द्रको निधनमा बलिउड रोयो । बदलिँदो शक्ति सन्तुलन, प्रविधि मानव नियन्त्रणभन्दा द्रुत गतिमा अघि बढिरहेको र कूटनीति परीक्षणमा रहेको वर्ष २०२५ मा पनि देखियो । सन् २०२५ लाई हामी आफ्ना सीमा, कमजोरी र सम्भावनालाई एकसाथ सामना गरेको वर्षका रूपमा सम्झिने छौँ ।
(अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा)
