काठमाडौँ । भर्खरै नेकपा एमालेको ११ औँ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट केपी शर्मा ओली फेरि अत्यधिक मतकासाथ अध्यक्षमा निर्वाचित भएका छन् । ईश्वर पोखरेललाई दोब्बर भन्दाबढी मतले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका छन् । यसबाट पार्टीमा ओली अझै लोकप्रिय रहेको पुष्टि समेत भएको छ । महाधिवेशनअघि उनलाई नेतृत्व हस्तान्तरण गर्न पार्टी नेताहरुले दबाब, आग्रह नगरेका पनि होइनन् । ओलीलाई दबाब पर्ने उद्देश्यले उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाललगायतले अब आफूहरु पार्टीको नेतृत्वदायी वा कार्यकारी पदमा नरहने घोषणा नै गरे ।
पार्टीका दुई कार्यकाल एकै पदमा नरहने र कार्यकारी पदमा ७० वर्षे उमेर हद आवश्यक छ भन्ने पक्षमा रहेका उनीहरूले पार्टीले विधानमा ती व्यवस्थाहरु कायम नराखेको अवस्थामा आफूहरु पदबाट अलग हुने बताए । उनीहरु मात्र नभई स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र पोलिटब्युरो सदस्य भूपेन्द्र थापा मगर र चुडामणि जंगलीले पनि अब सक्रिय राजनीति नगर्ने घोषणा गरे । त्यस्तै एमालेका केन्द्रीय सदस्यहरु दलबहादुर राना, भीम केसी र ईश्वरी जिएमले अबको नेतृत्वमा नआउने जनाउँदै स्वेच्छिक अवकाशको सार्वजनिक घोषणा गरे । तर ओलीलाई उनीहरुको स्वेच्छिक अवकासको घोषणाले केही छोएन र उनले फेरि अध्यक्षमा जितेर देखाइदिए ।
महाधिवेशनबाट केही नयाँ अनुहार आए, केही पराजित भए । केहीले आकांक्षा राखेको पद नपाएपछि केन्द्रीय सदस्यमा बसेर चित्त बुझाए । त्यस्तै केहीले पार्टीबाटै राजीनामा दिए । नेता ठम्मर विष्टले केन्द्रीय सदस्यमा पराजित भएपछि पार्टी परित्याग गरे । उनले पार्टीको आन्तरिक लोकतन्त्र, नेतृत्व शैली र मूल्य–मान्यतामा गम्भीर विचलन रहेकाले पार्टी छाडेको बताए ।
महाधिवेशनमा निर्वाचित भएकाहरु उत्साहित भए भने पराजितहरु चाहिँ सामाजिक संजालमार्फत गुनासो पोख्न थालेका छन् । केहीले महाधिवेशनले आफू टुहुरो बनाएको गुनासो गरेका छन् भने केहीले अब आफू मनमौजी गर्ने भन्दै रोष प्रकट गरेका छन् ।
सचिवमा पराजित भएपछि गोकुल बास्कोटाले अब लाए अराएको गर्ने, नलाए सुन्ने, हेर्ने र ताली बजाउने बताएका छन् । उनले भनेका छन्, ‘भनेकै थिएँ–जिते चलाउने, हारे सघाउने । खाल हारियो, च्याँखे जितियो । अब लाए अराएको गर्ने, नलाए सुन्ने, हेर्ने र ताली बजाउने । तर कुनै फुर्लुङमा तरुवा र सुरुवा बन्न नजाने केही छ अब थप ?’
उता अर्की नेतृ नवीना लामाले चाहिँ केन्द्रीय सदस्यमा पराजित भएपछि आफूलाई महाधिवेशनले टुहुरो बनाएको गुनासो गरेकी छन् ।
उनले भनेकी छन्, ‘बुबा बितेको चार महिना पुग्दै गर्दा मनभित्रको टुहुरोपन बोकेर ११औँ महाधिवेशनमा सहभागी भएँ । आज फेरि पनि त्यही गहिरो टुहुरो भएको अनुभूति मनमा बल्झिरहेको छ । अध्यक्ष कमरेड केपी शर्मा ओलीको समूहमा अन्तिम क्षणसम्म इमान्दार प्रयास गरियो, तर टीममा समेटिन सकिनँ । अध्यक्ष कमरेडप्रति मेरो गहिरो विश्वास थियो । तर टीम निर्माणको घडीमा त्यो टीममा मेरो नाम नरहनु मेरो मनका लागि अत्यन्त पीडादायी यथार्थ बन्यो । यसको कारण पार्टी पुनर्गठनसम्बन्धी र क. विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयमा बैठकमा व्यक्त गरिएको मेरो धारणा पनि रहेको बुझाइमा छु । तर बोलेकोहरू टीममा परेको छ । मैले अभ्यास गर्न पुगेन की ?’
