काठमाडौं । एसियाली फुटबल महासङ्घ (एएफसी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई २ हजार अमेरिकी डलर जरिवाना गरेको छ ।
एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत मलेसियाविरुद्ध भएको खेलमा नेपाली खेलाडीहरु मैदानमा ढिला प्रवेश गरेको भन्दै एएफसीको डिसिप्लिनरी तथा इथिक्स कमिटीले एन्फालाई जरिवाना गरेको हो ।
कमिटीको गत सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। मलेसियाविरुद्धको खेलमा नेपाली खेलाडीहरु पहिलो हाफमा एक मिनेट २० सेकेन्ड र दोस्रो हाफमा एक मिनेट तीस सेकेन्ड ढिला मैदान प्रवेश गरेको एएफसीले जनाएको छ ।
जरिवाना एन्फाले तीस दिन भित्रमा तिरिसक्नुपर्नेछ ।
१८ नोभेम्बरमा भएको उक्त खेलमा नेपाल मलेसियासँग १-० गोलले पराजित भएको थियो ।

