काठमाडाैँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको अवसरमा नेपाल–चीन सम्वन्धको ७० वर्ष ’सम्झना र समिक्षा’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
रे मिडिया ग्रुपको आयोजना तथा सिजिटिएन नेपाली सर्भिसको सहकार्यमा आयोजित सो अन्तरक्रिया बिहीबार काठमाडौमा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको उपलक्ष्यमा रे मिडिया ग्रुप, काठमाण्डूले प्रकाशित गरेको अजम्बरी साईनो नामक स्मारिका समेत सार्वजनिक गरिएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, काठमाडौँस्थित चिनियाँ राजदूतावासका मिनिस्टर काउन्सिलर चौ फान र रे मिडिया ग्रुपका अध्यक्ष प्रकाश बाबु पौडेलले सयुक्तरुपमा सो स्मारिक सार्वजनिक गरेका हुन् ।
विमोचनपछि अध्यक्ष नारायणप्रसाद दाहालले एक असल छिमेकी चीन नेपालको महत्वपूर्ण व्यापारिक साझेदार, लगानीकर्ता र विकास साझेदारको रूपमा उभिएको बताए । उनले दुई देशले पारस्परिक हित, सहकार्य र समृद्धिको मार्गमा अहिलेसम्म धेरै उपलब्धिहरू हासिल गरेको उल्लेख गर्दै व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि, खेलकुद, स्वास्थ्य र जनस्तरको सम्बन्ध जस्ता सबै क्षेत्रमा चिनियाँ सहयोगका कारण उल्लेखनीय प्रगति हासिल भएको जानकारी दिए ।
नेपालको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डतालाई चीनले सदैव समर्थन गर्दै आएको र नेपालले पनि एक चीनको नीतिलाई व्यवहारमा लागु गरेको भन्दै अध्यक्ष दाहालले क्षेत्रीय तथा विश्व शान्तिमा नेपाल र चीन दुवैले विश्व रंगमञ्चमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
समारोहमा काठमाडौँस्थित चिनियाँ राजदूतावासका मिनिस्टर काउन्सिलर चौ फानले नेपाल र चीनबीचको आर्थिक सहयोग र जनस्तरको सम्बन्ध महत्पूर्ण र हराभरा रहेको बताए । उनले चीन र नेपालबीचको साँस्कृतिक तथा जनस्तरको आदान प्रदानले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको धारणा राखे ।
कार्यक्रममा रे मिडिया ग्रुपका अध्यक्ष प्रकाश बाबु पौडेलले नेपाल–चीन सम्बन्ध हिमाल जस्तो उच्च, अटल र बिशाल रहेको बताए । इतिहासका विभिन्न कालखण्डहरुमा लिइएको परीक्षा पार गरेको नेपाल–चीन सम्बन्ध आर्थिक सहयोग र सांस्कृतिक आदानप्रदानको सिलसिला अझै बलियो र व्यापक बन्दै गएको देख्दा अत्यन्तै खुशी लागेको अध्यक्ष पौडेको भनाइ छ ।
त्यसैगरी, सिजिटिएन नेपाली सेवाका प्रमुख लिउ वन (सुमेघा)ले चीन र नेपालबीचको सम्वन्ध आगामी दिनमा झनै सुमधुर र प्रगाढ बन्ने विश्वास व्यक्त गरिन । भिडियो सन्देशमार्फत उनले चिनियाँ जनताले सन् २०२६ को नयाँ वर्षलाई घोडा बर्षको रुपमा मनाउने जानकारी दिदैँ नयाँ वर्षमा नेपाल र चीनबिचको सम्वन्ध पनि घोडाजस्तै तिव्र गतिमा आगाडी बढ्ने विश्वास व्यक्त गरिन् ।
पूर्वमन्त्री गणेश प्रसाद शाहले चीनले गरेको गरिबी उन्मुलन प्रति चिनियाँ राष्ट्रपति र चिनियाँ जनतालाई बधाई दिदै नेपालले पनि चीनले गरेको गरिबी उन्मुलनबाट पाठ सिकेर अगाडि बढ्न सक्नुपर्ने कुरामा जोड दिए । चीनसँग सडक, डिजिटल प्रविधि, करेन्सी, नवप्रवर्तन, अन्तरिक्ष विज्ञान जस्ता आधुनिक कनेक्टीभीटीमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने शाहले बताए ।
कार्यक्रममा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणी पौड्यालले नेपाल र चीनबीच भएका सन्धी सम्झौतालाई आधुनिक विश्व परिवेश अनुसार पुर्नलेखन गरि अगाडि बढ्नुपर्ने आवश्यकता औल्याए । पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रका आधारमा आन्तरिक मामिलामा अहस्तक्षेप र नेपाली जनताले छानेको राजनैतिक प्रणाली तथा सरकारप्रति सधै समर्थन र सहयोग गरेर बितेका सात दशकमा चीनले एक असल छिमेकीको नमुना प्रस्तुत गरेको पूर्व राजदूत पौड्यालको भनाइ छ । नेपालको आर्थिक तथा समामजिक विकासमा सरकारी संयन्त्रमार्फतमात्र सहयोग दिने चीनमात्र एक प्रमुख विकास साझेदार मुलुक भएको पनि पौड्यालले बताए ।
सो अवसरमा वरिष्ठ लेखक तथा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले नेपाल र चीन बीचको सम्वन्ध हिमाल वारीपारीको सम्वन्ध नभई हिमाल र पहाडले जोडिएको सम्वन्ध भएको बताउँदै दुई देशबीचको सम्वन्ध हिमाल जस्तै अटल रहेको उल्लेख गरे । साथै उनले नेपाल र चीनबीच पछिल्ला वर्षहरुमा भएका विभिन्न सन्धि र सम्झौताका कारण अब नेपालमाथि कसैले पनि नाकाबन्दी गर्न नसक्ने दाबी गरे ।
कार्यक्रममा चीन अध्ययन केन्द्रका महासचिव डा.उपेन्द्र गौतम, नेपाल र चीनबीचको सम्बन्ध भौगोलिक रुपमा मात्र जोडिएको नभई सामाजिक तथा साँस्कृतिक रुपमा पनि जोडिएको उल्लेख गर्दै चीनले अबलम्न गरेका विकासका नीति तथा पद्धतीहरुको अनुसरण गरेर अघि बढ्नुपर्नेमा जोडदिए ।
नेपाल–चीन मैत्री युवा संघका अध्यक्ष विष्णुप्रसाद सापकोटाले नेपाल र चीनबीचको सम्बन्ध केवल ७० वर्षको औपचारिक कूटनीतिक सम्बन्धमा मात्र सीमित नरहेको उल्लेख गर्दै यो सम्बन्ध इतिहासको निकै गहिरो पृष्ठभूमिमा आधारित रहेको धारणा व्यक्त गरे । प्राचीनकालदेखि नै हिमालले छुट्याए पनि संस्कृतिले जोडेको नेपाल–चीन सम्बन्ध व्यापार, धर्म, कला र सभ्यताको आदान प्रदानमार्फत् विकसित हुँदै आएको पनि सापकोटाले बताए । कलाकार तथा गायक जिवेससिंह गुरुङले नेपाल र चीनबीचको साँस्कृतिक सम्बन्ध महत्पूर्ण रहेको बताए ।
रे टेलिभिजनका समाचार निर्देशक तथा अजम्बरी साईनो स्मारिकाका प्रधान सम्पादक व्याकुल पाठकले विश्वले नै गर्व गर्ने किसिमले विकसित हुँदै आएको नेपाल–चीन सम्बन्धका विविध आयाम समेट्ने उद्देश्यले ‘अजम्बरी साइनो’ नामको विशेष स्मारिकाको प्रकाशन गरेको जानकारी दिए ।
रे टेलिभिजनका कार्यक्रम निर्देशक रोशन केसी र ब्राण्ड म्यानेजर उपमा पौडेलले सञ्चालन गरेको सो अन्तरक्रियामा रे मिडिया ग्रुप र सिजिटिएन नेपाली सेवाले निर्माण गरेका डकुमेन्ट्रीका साथै रे टेलिभिजनका विविध गतिविधिहरुको जानकारी मुलक भिडियोहरु समेत प्रदर्शन गरिएको थियो ।
समारोहमा नेपालस्थित चिनियाँ राजदूतावासका पदाधिकारीहरु, नेपाल–चीन मैत्री संस्थासँग आवद्ध व्यक्तित्वहरु, सीआरआई श्रोता क्लवहरुको राष्ट्रिय परिषद नेपालका पदाधिकारीहरु, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी लगायत भण्डै १ सय ५० जनाको उपस्थिति रहेको थियो ।










