पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल

तनहुँ । व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुल पाँच वर्षमा पनि सम्पन्न भएको छैन। हालसम्म ६५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। व्यास-३ र ऋषिङ-१ जोड्ने उक्त पुल निर्माणमा ठेकेदार कम्पनीले ढिलाइ गरेको हो।

पटकपटक ताकेता गरेपछि निर्माण कम्पनीले हालै पुनः काम थालेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख सिनियर डिभिजन इन्जिनियर रवीन्द्र तिवारीले जानकारी दिए। उनले भने,‘पुलको ‘स्टिल पाटर्स’ निर्माण हुने भएकाले फेब्रिकेसन भइसकेको छ।’

दुई ‘स्पाम’ मध्ये चालु आर्थिक वर्षमा एक ‘स्पाम’ निर्माण पूरा हुनेगरी काम गरिरहेको र बाँकी अर्को एक ‘स्पाम’ निर्माणका लागि निर्माण कम्पनीले भारतबाट समान ल्याइसकेको पूर्वाधार कार्यालयले जनाएको छ।

गण्डकी प्रदेश सरकारको रु ३२ करोड ४० लाख २७ हजार १९४ को लागतमा पुल निर्माण भइरहेको हो। कार्यालयका अनुसार पुल निर्माणका लागि २०७७ मंसिर १९ गते रसुवा इलाइट जेभी काठमाडौँसँग सम्झौता भएको थियो। १५५ मिटर लामो पुलको चौडाइ ९ दशमलव ५० मिटर हुनेछ।

पाइल फाउण्डेशनमा निर्माण हुने पुल ‘स्टिल ट्रस’ को हुनेछ। उक्त पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्यादसहित २०७७ चैत २३ गते शिलान्यास गरिएको थियो।

हालसम्म तीनपटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि २०८२ चैतसम्म म्याद थप गरिएकोमा उक्त अवधिभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिन थालेको सो कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *