महाधिवेशनपछि एमालेमा फेरि व्यक्ति–सर्वोच्चतावाद चल्ला ?

-नारायण गाउँले

चुनाव त केपी ओलीले नै जित्नुहोला तर एमालेभित्र निरङ्कुशता, व्यक्तिवाद, डरत्रास र स्वेच्छाचारितालाई चुनौती दिँदै लोकतन्त्रले भने जितिसकेको छ । अस्ति भर्खरको महाधिवेशन जसलाई याद छ, उसले यो उज्यालो परिवर्तन सजिलै अनुभव गर्न सक्छ ।

हिजो यत्ति एउटा चुनावका लागि आवाज उठाउँदा पार्टीको दुश्मन बनिन्थ्यो । भीम रावल एक्लै मात्रै परेका थिएनन्, हास्यको पात्र बनाइएका थिए । उनले हारे पनि चुनाव त लड्न पाऊँ भन्दै गिडगिडाएको चित्र र ओलीजीले गोजीबाट पदाधिकारीको नाम उच्चारण गरेको दृश्यले लोकतन्त्रलाई गिज्याएका थिए । अन्तिममा चुनाव त भयो तर हात उठाउने खालको । बोल्न मन नै नलागेको त होइन होला, तर सबै मूर्तिजस्तो अवाक् थिए । त्यसयता नेतृत्वविरुद्ध बोल्नु भीम रावल बन्नु हो भन्ने त्रासले धेरै ओठ बन्द गर्यो ।

पार्टीको विधानले ओलीजीलाई फेरि अध्यक्ष बन्न रोकेपछि विधान अधिवेशन बोलाएर विधान नै परिवर्तन भयो । अहिले पनि फेरि आफूलाई अप्ठेरो परेपछि हिजो भर्खर फेरेको विधान आज फेरि फेरियो । नीति, मूल्यमान्यता र विधानलाई व्यक्तिगत स्वार्थका लागि फुटबल जस्तो बनाउने त्यो स्तरको व्यक्ति–सर्वोच्चतावाद अब नचल्न पनि सक्छ ।

आज ईश्वर पोखरेलले उपाध्यक्षको सजिलो र शायद अन्तिम पद दाउमा लगाएर भए पनि पार्टीलाई अलिकति लीकमा ल्याउने कामचाहिँ गर्नुभयो । यो महाधिवेशनको घोषणा हुँदै गर्दा ओलीजीले ’महाधिवेशनमा मैले मात्रै बोल्छु, त्यसपछि सकिन्छ, अन्य कुनै छलफल र बहस हुँदैन !’ भनेर खुल्लमखुल्ला बोल्नुभएको याद होला । लोकतन्त्रमा त्यस्तो महाधिवेशन एउटा भद्दा मजाक नै हुन्थ्यो ।

तर आज खुल्लमखुल्ला प्यानल बनेको छ, नेतृत्वको सामथ्र्य र कमजोरीबारे मान्छे खुलेर बोलेका छन् । हिजो आफूविरुद्ध बोल्नेको अनुहार नै हेर्न नचाहने ओलीजी आज ईश्वर पोखरेलसँगसँगै भोट माग्न हिँडेको दृश्य एमालेका कार्यकर्ताका लागि पनि पक्कै सुन्दर छ । पदाधिकारीमा महिला र पिछडिएकाहरूको उपस्थिति दयनीय भएपनि केन्द्रीय सदस्यमा दुबै प्यानलले अभूतपूर्व रूपले युवाहरूलाई ठाउँ दिएका छन् । यसपालि पक्कै सबै ओलीजीकै लिस्टबाट मात्रै छानिने छैनन् । पार्टीमा फरक धार, विचार र अन्तर्रसङ्घर्षको संस्थागत प्रतिनिधित्व हुनेछ ।

यत्रो जेनजी आन्दोलनपछि हुँदै गरेको अधिवेशनमा त्यति धेरै उपाध्यक्ष र सचिवका पोस्ट रहेछन्, एकदुई जना युवालाई उठाएको भए पनि के जान्थ्यो र ? छान्नका लागि कति धेरै अनुहार थिए । जे होस्, आंशिक नै सही, देशको ठूलो दलभित्र लोकतन्त्रको विजय हुनु हाम्रो लोकतन्त्रकै विजय पनि हो । केपी ओलीलाई चुनौती दिएको भनेर होइन, एउटा ठूलो राष्ट्रिय दलमा लोकतन्त्रलाई सास फेर्ने अवसर दिएकोमा ईश्वर पोखरेल टिमलाई धन्यवाद ।

तँ, गैरएमालेलाई केको चासो भनेर प्याच्च असभ्य कमेन्टचाहिँ नगर्नुहोला । बहुदलीय व्यवस्थामा दल भनेको सार्वजनिक संस्था हो । निजी क्लब होइन । दल देशको सम्पत्ति हो । सबैलाई आफ्नो चासो राख्ने छुट हुन्छ । मन नपरे अरूको कलम होइन, आफ्नै आँखा बन्द गर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *