काठमाडौँ । हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।
लामालाई काठमाडौँको कपनबाट पक्राउ गरी पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । २०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र २ जना घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।
उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, पाँचथरमा विष्फोटक पदार्थ सम्बन्धी मुद्दा दर्ता भएको थियो । त्यही मुद्दामा उनलाई मंगलबार बुढानिलकण्ठ नगरपालिका–११ कपनबाट पक्राउ गरिएको हो। थप कारबाहीका लागि उनलाई पाँचथर पठाइएको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।
धनकुटाको पार्खिवास नगरपालिका–९ का ५० वर्षीय तामाङ हाल काठमाडौँको बुढानिलकण्ठ–११ कपनमा बस्दै आएका थिए। उनी यसअघि जेल सजाय भोगिसकेका व्यक्ति हुन् ।
सीआईबीका अनुसार, २०६८ फागुन १५ मा काठमाडौँ–११ बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाईम बम विष्फोट भएको थियो। त्यसमा मानबहादुर तामाङसहित तीन जनाको ज्यान गएको थियो। त्यस्तै, सोम तामाङ घाइते भएका थिए ।
त्यस घटनामा संलग्न रहेको आरोपमा उनी पनि पक्राउ परेका थिए। कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका उनलाई यसअघि २०६९ असार १२ गते पक्राउ परेका थिए । उनलाई केन्द्रीय कारागार, नख्खु पठाइएको थियो । उनी २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा छुटेका थिए।

