-तनुजा पाण्डे ।
राजनीतिमा राजनीतिक चेतना किन महत्वपूर्ण हुन्छ भन्ने कुरा ‘जेठो छोरो’ लाई हेरेर नै आँकलन गर्न सकिन्छ । जेठो छोरो अलि धेरै पुलपुलिएको देखिन्छ । तपाईंका मागहरू पूरा नभए जेनजी “फेल” हुन्छ भन्ने कथ्य जबरजस्ती थोप्ने काम अब बन्द गर्नुहोस् । यस्तो प्रदर्शनमुखी gatekeeping आफैं लज्जास्पद छ। पक्षपात नहोस् भन्ने चाहना राख्नेले सबैभन्दा पहिले त्यो संस्कार आफैंबाट सुरु गर्नुपर्छ।
कहिले नेताहरूलाई निर्वाचनमा आउन नदिने घोषणा गर्छौ, कहिले पार्टी नै आवश्यक छैन भन्छौ । कहिले बहुदलीय लोकतन्त्रको वकालत गर्छौ, अनि तिनै दलहरूलाई बेवास्ता गर्दै एकपक्षीय सम्झौता गर्छौ । कहिले सम्माननीय राष्ट्रपतिले बहुदलीय प्रणालीको समर्थन गरेकै भरमा ज्यान मार्ने धम्की दिन्छौ । फेरि त्यही दलहरूलाई सार्वजनिक बहसमा आउनुपर्ने भन्दै, अन्ततः तिनैलाई ‘अन्तिम विकल्प’का रूपमा प्रस्तुत गर्छौ। यस्तो विरोधाभासलाई राजनीति होइन, असंगत नाटक भनिन्छ।
अरूको आलोचना गर्नुभन्दा पहिले आफ्नै व्यवहारमा आत्म‑विश्लेषण गर पछिल्ला तीन महिनामा तिम्रो अस्थिर र असंगत कदमले देश र हाम्रो आन्दोलनलाई कति क्षति पुर्यायो भन्ने बुझ । तिमीलाई चाहिएको बेला संसद भत्काउने र नचाहिएको बेला पुनःस्थापना गर्ने, घरी चुनाव गर्ने, घरी चुनाव नगर्ने मनपरी स्वीकार्य छैन। खबरदार, नेपाल कसैको प्रयोगशाला होइन। व्यक्तिगत एजेन्डा अघि सार्न सहिद र जेनजीको नाम बेच्ने काम तुरुन्त बन्द गर ।
कसैले जेठो छोरालाई सुनाइदिनुहोस् ७० प्रतिशत सिट माग्ने व्यक्तिले त्यसको गम्भीरता बुझ्न आवश्यक छ । कम्तीमा भरपर्दो र निरन्तरशील हुनु अनिवार्य छ। त्यो सिटका लागि योग्य हुन पनि जरुरी छ(नैतिक रूपमा पनि)! अरूमा क्षमता खोजिरहँदा आफ्नै क्षमता नहेर्नु भनेको पूर्ण पाखण्ड हो, र यसले तपाईंको राजनीतिक नैतिकता नै प्रश्नवाचक बनाउँछ। अब केही समय विश्राम लिनुहोस् । जुन क्षेत्रमा तपाईंको दक्षता छ, त्यसमै केन्द्रित हुनु बुद्धिमानी हुनेछ। गम्भीर राजनीतिक विषयमा तपाईंका बढ्दो टिप्पणीहरू देशको शान्तिका लागि चिन्ताजनक बन्दै गएका छन्।
-पाण्डे जेनजी आन्दोलनकी अगुवा हुन् ।
