पोखरेलले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । सोमबार भृकुटीमण्डपस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल प्रतिस्पर्धा गर्न लागेका हुन् ।

नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुँदैछ । जारी ११औँ राष्ट्रिय महाधिवेशनका सिलसिलामा विभिन्न पदका आकाङ्क्षीहरूले उम्मेदवारी दर्ता गराउनेक्रम अन्तिम चरणमा पुगेको छ ।

भृकुटीमण्डपस्थित मिडियासेन्टरमा आयोजित पत्रकार सम्मेलनमा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले इच्छुक उम्मेदवारहरू फाराम भरी दर्ता गर्न नेताहरु व्यस्त रहेको जानकारी दिँदै आज दिउँसो ३ः३० बजेभित्र उम्मेदवारी दर्ता गरिसक्नुपर्ने व्यवस्था रहेको जानकारी दिए ।

उनकाअनुसार निर्वाचन कार्यतालिका अनुसार आज बिहान ९ः३० बजेदेखि उम्मेदवारको फारम वितरण तथा दर्ता प्रक्रिया सुरुभएपछि संशोधनसहित आज दिउँसो १ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारी दर्ता गराउने समय थप गरिएको छ ।

गौतमका अनुसार अध्यक्ष पदको उम्मेदवारी शुल्क १५ हजार, उपाध्यक्षदेखि सचिवसम्मका पदाधिकारीको १० हजार र केन्द्रीय सदस्यका लागि पाँच हजार शुल्क तोकिएको छ । उम्मेदवारी फारम शुल्क भने १०० रुपैयाँ तोकिएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार नै भोलि मङ्गलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *